चाडपर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्छः अध्यक्ष नेपाल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दसैँका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । अध्यक्ष नेपालले बिहीबार शुभकामना सन्देश जारी गरी विभिन्न जाति समुदायको एकताले राष्ट्रको विकास र जनताको समृद्धिको चाहना पूरा हुने विश्वास व्यक्त गरेका हुन् ।

सन्देशमा उनले भनेका छन्, “हाम्रो मुलुकमा प्रचलित विविधता तथा मौलिक संस्कृति र परम्पराले विश्व मानचित्रमा नेपालको गौरव बढाएको छ ।” अध्यक्ष नेपालले दसैं, तिहार, नेपाल संवत् ११४२, छठ, ल्होसार, उँधौली पर्वलगायत नेपाली चाडपर्वले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका  छन् ।