बुटवल । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद विस्तारका विषयमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।
उद्योग वाणिज्य मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएपनि जनतालाई यथार्थ कुरा बताउनुपर्ने सिंहको जोडि थियो । उनले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका नेता र स्वयम् प्रधानन्यायाधीशले पनि हमालको विषयमा स्पष्टिकरण दिनुपर्ने बताए ।
बुटबल पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवाले गरेको गल्तीको स्पष्टीकरण नेकपा माओवादी अध्यक्ष प्रचण्डले दिनुपरेको बताए । “गल्ती सरकार विस्तारमा भयो अनि जवाफ चाहिँ हामीले दिनुपर्ने,” उनले भने,“ प्रचण्डजी ले कांग्रेसले हो भनेर स्पष्टीकरण दिनुपरेको छ, जनताले पत्याउनु पर्यो नी। यो विषयमा प्रधानन्यायाधीश पनि विवादमा तानिएकाले स्पष्टिकरण दिनुपर्छ।”
नेता सिंहले प्रधानमन्त्री देउवालाई आफू प्रधानमन्त्री हुँदा घटाएको आइजिपी काण्ड र सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेसले भोग्नु परेको नतिजा सम्झन पनि अनुरोध गरे । कांग्रेसँग २५ प्रतिशत सांसद नहुँदा पनि तत्कालीन प्रम केपी ओलीले विशेष निगाहले कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको उनको भनाइ थियो ।
फरक प्रसंगमा उनले मोतीपुर घटनाको यथार्थ सार्वजनिक गर्न माग गरे । गोली लागेर ४ जनाको ज्यान जानु दुःखद भन्दै उनले सरकारले मानव सुरक्षा गर्न नसकेको आरोप लगाए । पैदल हिँडेर न्याय माग्न माइतीघर मण्डलामा आएकाहरुमाथी पुलिस लगाएको भन्दै उनले लोकतान्त्रिक पार्टीका सभापति तथा प्रधानमन्त्रीले जनताको दुःखलाई वेवास्ता गरेको बताए ।

प्रतिक्रिया