काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेका सांसद खिमलाल भट्टराईले पाँच दलीय गठबन्धनको यो सरकारले जनताका कुनै काम गर्न नसक्ने जिकिर गरेका छन् ।
सोमबारको राष्ट्रियसभा बैठकमा भट्टराईले जनताको अपेक्षा अनुसारको काम गर्न नसक्ने जिकिर गरेका हुन् । उनले ’ यो सरकार आएर जनता उत्साहित हुने अवस्था छैन । पद प्राप्ती गर्नेको मावली, ससुराली खुसी हुने अवस्था भयो होला । यो भन्दा बाहेक अरु केही छैन।’
उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि सर्वोच्च अदालतबाट भएको परमादेशको पनि पोल खुलिसकेको बताए । उनले भने, ‘परमादेश कसरी आयो भन्ने पनि प्रमाणित भएको छ ।
परमादेश जारी हुनु र सर्वोच्चको फैसला आजको राजनीतिक घटना क्रमले स्पष्ट पारेको छ।’ उनले परमादेशको ढाकछोपका लागि एकजना मन्त्रीले राजीनामा दिएर नहुने बताए। उनले प्रधानमन्धी शेरबहादुर देउवाले बुढानिलकण्ठबाट उठेर बालुवाटारमा आएर सुत्ने बाहेक केही काम नगरेको आरोप लगाए ।
त्यस्तै उनले रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको विषयमा सरकारको जवाफ माग गरेका छन् । भट्टराईले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको आरोप लगाए ।
उनले भने,‘आज अरुका लागि दशैं आएको छ, सुकुम्बासीका लागि दशा आयो । त्यही जिल्लाका गृहमन्त्री हुनुहुन्छ, उहाँले के सोचिरहनुभएको छ ?’ आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । सांसद भट्टराईले यो घटननाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको बताए ।
सुकुम्वासी समास्या समाधान आयोग गठन गरेर जग्गा वितरण गर्ने समयमा खारेज गदै सरकारले उनीहरुमाथि दमन गर्ने नीति लिएको आरोप उनले लगाए।

प्रतिक्रिया