गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो ?


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनबाट आफूलाई सभापतिमा जिताउन आग्रह गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै सिंहले उपत्यकावासीले बाहिरबाट आएका नेताहरुलाई मात्र अघि बढाएको भन्दै दुखेसो पोखे ।

नेता सिंहले उपत्यकाले आफ्नो नेतालाई सधैं सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको उल्लेख गरे । उनले भने,“उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काबासीले कहिलेसम्म बोक्ने ?”

उनले १४ औं महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको बताए । “काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो,” उनले भने–“अरुको छोराहरुले त अवसर पाएका छन् त ।”

उनले काम गर्न नसक्नेहरुको गुणगान नगाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले विश्राम लिनुपर्ने बताए । “१३ औ महाधिवेशन पश्चात् उहाँहरुले अवसर त पाएकै हो नी, तर क्रियाशील मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन,” उनले भने–“अनी किन गुणगान गाउने।”

नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आउ भन्ने अवस्था आएको बताए । आफूले २०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवालाई असफल नेता भएकाले राजीनामा दिन माग गरेको बताए । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई वाइपास गरेर शक्ति प्रदर्शन गरेको सिंहको आरोप थियो ।

सभापति देउवाले लोकतान्त्रिक दल नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको आरोप लगाए । “पार्टी सभापतिकै जिल्लाको पार्टी कार्यालयमा अनसन, जिल्ला सभापतिलाई शक्ति देखाएर वाइपास गरेको छ,”उनले भने–“देश लोकतान्त्रिक बनाउने पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई वेवास्ता गर्ने।” उनले भने ।

पार्टीको सिद्धान्त आदर्श र लोकतन्त्रका लागि गरेको संघर्षले कांग्रेसलाई विश्व समुदायमा चिनारी दिएको भन्दै पार्टीको महत्व बुझ्नु आजको आवश्यकता भएको सिंहले बताए । तर, सिद्धान्त अनुरुप डेलिभेरी हुन नसकेको उनको भनाइ थियो ।