एमालेका मुद्दा सम्बोधन गर्न पार्टी संसदीय दलका नेतासँग प्रधानमन्त्री र सभामुखले छलफल गर्नुपर्छः भट्टराई


काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका मुद्दा सम्बोधन गर्न पार्टी संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले नेकपा एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरु रहेको बताए ।

उनले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानून, संविधान र नैतिक दृष्टिकोणले पनि उचित नभएको बताए ।

उनले भने, ‘नेकपा एमालेले उठान गरेका जे मुद्दाहरु हुन् ती मुद्दाकोबारेमा सत्तापक्षले वा सभामुखज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकाले नेकपा एमालेसँग प्रत्यक्ष संवाद गर्दा भइगयो नि किन अरु गठबन्धनलाई भेला पारेर, अरु सबैसँग साच्ची राखेर हामीसँग उहाँले बहस गर्नुपर्दैन । सिधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैँ खुल्ला छौँ । विगतमा हामीलाई पटकपटक संसद छलेको आरोप लगाउने उहाँहरुले १ गते बिहानै अध्यादेश ल्याउनुभयो,त्यो पनि ४० बाट झारेर २० प्रतिशतमा पार्टी फुटाउन मिल्ने अध्यादेश ल्याउनुभयो, हामीले ल्याउँदा संसद छलेको हुने, उहाँहरुले ल्याउँदा नहुने ? कति भए पुग्छ भनेर हाम्रो दल विभाजन गर्नका लागि जुन हर्कत गरियो त्यसप्रति हाम्रो आपत्ति हो,अझ आश्चर्यको कुरा के हो भने प्रतिनिधिसभामा टेबुल गरिसकेपछि त्यहीबाट निरुपण गर्ने, पास, फेल के गर्ने हो त्यो उहाँहरुसँग बहुमत थियो, त्यो गर्दा भइहाल्थ्यो तर त्यो छोडेर उहाँहरुले संसदमै त्यसलाई बेवारिसे छोडिदिएर अचानक क्याबिनेटले फिर्ता लिने जुन काम गर्नुभयो,त्यो कानून विपरीत छ, संविधान विपरीत छ, नैतिक दृष्टिकोणले वास्तवमा त्यो उचित काम भएन ।’

भट्टराईले नेकपा एमालेसँग मात्रै छलफल गर्न आवश्यक रहेको भन्दै छलफलमा अन्य दल बोलाउन नपर्ने बताए । प्रधानमन्त्री र सभामुखले नेकपा एमालेका संसदीय दलका नेतासँग मात्रै संवाद गरे आफू छलफलमा बस्न तयार रहेको पनि उनले बताए ।