काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडि बढ्ने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको बीचमा सम्बन्ध सुमधुर रहेको बताएका हुन् । उनले बाहिर हल्ला भएजस्तो गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
अध्यक्ष नेपालले गठबन्धनकाबीचमा केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडि बढ्ने तयारी भइरहेको जानकारी दिए । गठबन्धनलाई आगामी चुनावभन्दा पछिसम्म निरन्तरता दिइने उनले बताए ।
अध्यक्ष नेपालले यो गठबन्धनको मूल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादको दिशामा अगाडि बढ्ने नीति रहेको उल्लेख गरे । उनले आफ्नो पार्टी कसैसँग मिसिनुपर्ने आवश्यकता नभएको पनि स्पष्ट पारे । पार्टीको जग बलियो भएको र कार्यकर्ताहरुको व्यापक समर्थन भएका कारण संगठन फैलिदै गएको उनको भनाई थियो ।

प्रतिक्रिया