गठबन्धन सरकारले घण्टाघर बनाउने भनेर गरेको घोषणा हास्यास्पदः अध्यक्ष ओली


बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले भत्काउन मात्रै जानेको बताएका छन् ।

बुधबार बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले घण्टाघर बनाउने भनेर गरेको घोषणा हास्यास्पद भएको टिप्पणी गरे ।

उनले भने, ‘यिनीहरुले घण्टाघर बनाउँछन् रे, यिनीहरुले बनाउँदैनन् भत्काउन मात्रै जानेका छन्, यिनीहरुले भत्काए भने पनि हामी बनाउँछौ घण्टाघर।’

उनले भूकम्पका बेला नेकपा एमालेले २७ हजार घर, १३ हजार स्कुल र चौकीहरू बनाएको भन्दै अब एमाले परोपकारी संस्थाका रुपमा हाजिर भइरहेको र अझै भइरहेको अझ भइरहने दावी गरे ।

उनले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने दाबी गरे । अध्यक्ष ओलीले भने, “देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा सिद्धबाबाको सुरुङमार्ग, भैरहवा एयरपोर्ट र लुम्बिनीलगायत विकासका पूर्वाधार हेरे पुग्छ ।”

उनले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उनले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए । उनले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर पार्टीका काममा खट्न कार्यकर्तालाई निर्देशन दिए ।