सरकारले प्रतिपक्षको अवरोधका कारण बजेट समयमा पारित नभएको भ्रम छरेको एमालेको आरोप


काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सरकारले बजेटजस्तो संवेदनशील विषयमा उदासिनता र गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाएको छ । बुधबार एमाले महासचिव ईश्वर पोखरलले विज्ञप्ति जारी गरी बजेट पास गर्ने बेलामा सरकार र सभामुखले प्रतिनिधि सभा बैठक असोज ४ गतेसम्म स्थगित गरेर गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको छ । जबकी प्रतिनिधिसभाको बैठक सुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन । बरु यसबीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढंगले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद अधिवेशन स्थगित गरियो । यतिबेला हाम्रो पार्टी नेकपा (एमाले) सभामुखबाट भएको पदीय मर्यादाविपरीतको अनुचित कार्यका विरुद्धमा आफ्नो असहमति र विरोध प्रकट गर्दै आइरहेको छ । तर समाभुख र सरकारको तर्फबाट प्रतिपक्षको सहमतिबिना नै संसदको काम कारवाही अघि बढाउने काम भइरहेको छ । आफूलाई ईच्छा लागेको विजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय विर्सेझैं हाउस असोज ४ गते किन सारियो यसको जवाफ यो गैरजिम्मवार सरकारले दिनुपर्छ । यो नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चाल मात्र हो । सरकारको यसप्रकारको रवैयाप्रति हाम्रो पार्टी नेकपा (एमाले) खेद व्यक्त गर्दछ ।’

एमालेले आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तिय संकटको परिस्थिति सिर्जना हुनपुगेको दावी समेत गरेको छ । एमालेले विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च बृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको जनाएको छ ।