तालिबानद्वारा अल्पसङ्ख्यक हजारा पुरुषहरूको यातना दिएर हत्या गरेको एम्नेष्टीको भनाइ


तालिबानले हालै अफगानिस्तानको अल्पसङ्ख्यक हजारा समुदायका पुरुषहरूको आमहत्या गर्नुका साथै कतिपयलाई क्रुरतापूर्वक यातना दिएको एक अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ ।

अफगानिस्तानको गजनी प्रान्तमा जुलाई महिनाको आरम्भमा धेरै मानिसहरूको ज्यान लिइएका ती घटनाका प्रत्यक्षदर्शीहरूले त्यसका हृदय विदारक विवरणहरू दिएका छन् ।

आइतबार अफगान राजधानी काबुलमाथि कब्जा जमाएपछि तालिबानले आफूहरूको केही नरम छवि प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । तर एम्नेष्टीका अनुसार उक्त हिंसात्मक घटना तालिबान शासनको भयानक सङ्केत हो ।

हजारा समुदाय अफगानिस्तानको तेस्रो ठूलो जनजाति समूह हो । तिनीहरू सामान्यतया शिया इस्लाम मान्ने गर्दछन् र सो समुदायले बहुसङख्यकले सुन्नी इस्लाम मान्ने अफगानिस्तान र पाकिस्तानमा लामो समयदेखि दमन र अत्याचारपूर्ण व्यवहार सहँदै आएका छन् ।

बिहीबार सावर्वजनिक गरिएको एम्नेष्टीको प्रतिवेदनमा भनिएको देशको पूर्वी गजनी प्रान्तको मालिस्तान इलाकामा जुलाईको ४ र ६ तारिखका बीच नौजना हजारा पुरुषहरूलाई मारिएको थियो ।

उक्त मानवअधिकारवादी समूहले विभिन्न प्रत्यक्षदर्शीहरूसँगको कुराकानी र उक्त घटनापछि प्रमाणको रूपमा प्राप्त फोटोग्राफहरूको आधारमा उक्त प्रतिवेदन तयार पारेको बताएको छ । स्थानीय गाउँलेहरूले सरकारी सेना र तालिबान लडाकुहरूबीच लडाइँ चर्किएपछि आफूहरू पहाडतर्फ भागेर गएको बताएका थिए ।

तर तीमध्ये केही खानेकुरा लिनको लागि मुन्डराख्त गाउँमा फर्किँदा तालिबानले तिनीहरूलाई पर्खेर बसेको र घरहरूमा लुटपाट गरेको बताएका छन् । मुन्डराख्त भएर आफ्नो गाउँ फर्कन लागेकाहरूलाई पनि आक्रमण गरिएको बताइएको छ । उसकाअनुसार ६ जनालाई गोली हानी मारिएको थियो। ती मध्ये धेरैलाई टाउकोमा गोली हानिएको थियो।

र अन्य तीन जनालाई यातना दिएर मारिएको थियो । एक जना प्रत्यक्षदर्शीले तालिबान लडाकुहरूलाई तिमीहरूले किन यस्तो क्रुरता देखाएको भनेर प्रश्न गरेको बताएका छन् ।

जवाफमा ‘द्वन्द्वको बेला जो पनि मर्न सक्छ। बन्दुक बोक्ने पनि नबोक्ने पनि। यो लडाइँ हो’ भनेर एक जना लडाकुले भनेको बताइएको छ। एम्नेष्टीका अनुसार तालिबानको नियन्त्रणमा रहेका कतिपय क्षेत्रमा मोबाइल फोन सेवा काटिएको छ। त्यसका कारण पनि त्यहाँ भएको उक्त घटनाका बारे जानकारी हालसम्म बाहिर आउन सकेको थिएन।

एम्नेष्टीले यस्ता घटनाका बारे छानबिन गर्न र जोखिममा रहेकाहरूको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घलाई आह्वान गरेको छ ।