अब तालिबानका कुन नेताले सम्हाल्लान् अफगान सरकारको नेतृत्व ?


अफगानिस्तानका राष्ट्रपति अशरफ घानीको बहिर्गमनसँगै तालिबानले राष्ट्रपति भवन समेत कब्जा गरेपश्चात् अब उनीहरूका कुन कुन नेताले सत्ता सञ्चालनको नेतृत्व गर्नेछन् भन्ने प्रश्नहरू उठिरहेका छन् । यो प्रश्नको जवाफ खोज्दा धेरै चर्चा दुईवटा नामको भइरहेका छन् – हिबातुल्लाह अखुन्दजादा अनि मुल्लाह अब्दुल गनी बरादर । यी दुई को हुन्, तालिबानभित्र यिनको भूमिका तथा यिनको व्यक्तित्व कस्तो छ ?

मुल्लाह गनी बरादर
मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए । सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए । सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो ।

सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन । त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी रिहाइ गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो ।

सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्यो । उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए।

पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए । सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो। उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे । इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो। उनी दुर्रानी समुदायका भएका ठानिन्छ ।
बहिबातुल्लाह अखुन्दजादा
हिबातुल्लाह अखुन्दजादा अफगान तालिबानका प्रमुख नेता हुन्। उनी इस्लाम धर्मका विद्वान हुन् जो कान्दहारबाट आएका हुन् । उनले नै तालिबानको दिशा बदलेर अहिलेको अवस्थामा ल्याइपुर्याएको ठानिन्छ । तालिबानको गढ रहेको कान्दहारसँग जोडिएका कारण उनले तालिबान नेतृत्वमा आफ्नो पकड बनाउन सकेको ठानिन्छ ।

सन् १९८० को दशकमा उनले तत्कालीन सोभियत सङ्घको विरुद्ध अफगानिस्तानमा विद्रोहका एक कमाण्डरको भूमिका खेलेका थिए । तर उनको पहिचान एक सैन्य कमाण्डरको रूपमा भन्दा पनि एक धार्मिक विद्वानको रूपमा ज्यादा भएको पाइन्छ । अफगान तालिबानका प्रमुख नियुक्त हुनुभन्दा पहिले पनि उनी तालिबानका शीर्ष नेताहरूमध्ये रहेका थिए।

धर्मसँग जोडिएका आदेशहरू उनै दिन्थे । उनले दोषी पाइएका हत्यारा वा अवैध यौन सम्बन्ध राख्नेहरूलाई हत्याको सजाय तथा चोरी गर्नेहरूलाई हात काट्ने सजायका आदेश दिएका थिए । हिबातुल्लाह तालिबानका पूर्व प्रमुख मोहम्मद मन्सुरका उपप्रमुख पनि थिए।सन् २०१६ को मे महिनामा अमेरिकी ड्रोन हमलामा मन्सुरको मृत्यु भएको थियो ।

मन्सुरले आफ्नो इच्छापत्रमा हिबातुल्लाहलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए । करिब ६० वर्षका हिबातुल्लाहले जीवनको धेरै समय अफगानिस्तानमै बिताएका छन् । हिबातुल्लाहको नामको अर्थ हुन्छ, ’अल्लाहको तर्फबाट प्राप्त उपहार।’ उनी नुरजाई समुदायबाट आएका हुन् ।

अन्य तालिबान नेता को को छन् ?
तालिबानको वर्तमान नेतृत्व संरचनामा हिबातुल्लाह अखुन्दजादा शीर्ष स्थानमा छन् र उनी राजनीतिक, धार्मिक तथा सैन्य मामिलाका प्रमुख रहेका छन् । राजनीतिक मामिला हेर्ने उनका उपप्रमुख मुल्लाह गनी बरादर हुन् । सैन्य मामिला हेर्ने उपप्रमुख चाहिँ पूर्व तालिबान प्रमुख तथा संस्थापक नेता मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुब हुन् । हक्कानी सञ्जालका प्रमुख समेत रहेका सिराजुद्दिन हक्कानी पनि हिबातुल्लाहका अर्का उपप्रमुख हुन् । मुल्लाह अब्दुल हकीम तालिबानका वरिष्ठ न्यायाधीश हुन् र उनले तालिबानको न्यायिक संरचनाको अगुवाइ गर्छन् । तालिबानको एउटा नेतृत्व परिषदपनि रहेको छ । २६ सदस्य रहेको रहबारी शुरालाई तालिबानको उच्चतम सल्लाहकार परिषद् तथा निर्णायक समूह मानिन्छ।

बीबीसीबाट