तालिबानलाई सरकारी कार्यालय कब्जा गर्ने कार्य बन्द गर्न राष्ट्रसंघका महासचिवको आग्रह


संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन् ।

उनले आफ्ना सशस्त्र विद्रोही लडाकूलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन तालिबान लडाकू समूहलाई भनेका छन् ।

उनले भनेका छन्, “हालका लागि यो कार्यलाई रोकेर शान्तिपूर्णरुपमा आफ्ना काम गर्न र आफ्ना कुरा राख्न हामी आग्रह गर्दछौँ ।” उनले अफगानिस्तानको तालिबान समूहलाई शान्तिपूर्णरुपमा आफ्ना माग राख्न आग्रह गर्दै वार्ताको टेबलमा बस्न पनि आग्रह गरेका छन् ।

हाल तालिबानले अफगानिस्तानमा एकपछि अर्काे कार्यालय कब्जा गरिरहेको बताएका छन् । हाल अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक र अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किसकेको छ ।

विदेशी सैनिक फर्किएलगतै तालिबान लडाकूले अफगानिस्तान कब्जा गर्नेगरी कार्यक्रम अघि सारेका छन् र उनीहरु एकपछि अर्काे गरेर अघि बढ्दैछन् । जसका कारण अफगानिस्तानमा हिंसा भइरहेको छ ।

तालिबानले शहर कब्जा गर्न सशस्त्र विद्रोह गरिरहेका छन् भने अफगानिस्ताको सेनाले तालिबानका विरुद्ध कारबाही पनि जारी राखेको छ ।

जसका कारण पछिल्ला दुई हप्ता यतामात्र अफगानिस्तानबाट दुई लाखभन्दा बढी व्यक्ति घरबास छोडेर भागेका छन् भने कैयौँ सर्वसाधारण नागरिक सरकारी सेना र तालिबानी लडाकूको भिडन्तमा परेर मारिएका पनि छन् ।