कान्दहारमा नियन्त्रणमा लिएको तालिबानको दाबी


तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ । उक्त सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्वपूर्ण विजय हुनेछ । उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र थियो र यो अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो ।

अफगानिस्तानमा जारी लडाइँकाबीच तालिबानले बिहीवार थप मुख्य सहरहरू गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको थियो । तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने क्रममा त्यसलाई सबैभन्दा नाटकीय ढङ्गको श्रृङ्खलाबद्ध कब्जा मानिएको थियो ।

यसैबीच विश्व शक्ति राष्ट्रहरूले चाहिँ सैन्य शक्तिद्वारा अफगानिस्तानमा स्थापना हुने सरकारलाई आफूहरूले मान्यता नदिने चेतावनी दिएका छन् । अमेरिका र ब्रिटेनले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा अफगानिस्तानबाट लैजान पुनः काबुलमा सैनिकहरू पठाउन लागेको बताएका छन् ।

एकजना तालिबानका प्रवक्ताले कान्दहार पूर्ण रूपमा जितिएको छ भन्ने घोषणा गरेका छन् तर त्यसलाई अहिलेसम्म पुष्टि गर्न सकिएको छैन । स्रोतहरूले दक्षिणी हेल्मन्ड प्रान्तको राजधानी लश्कर गाहलाई पनि तालिबानले नियन्त्रण गरेको बताएका छन् । यद्यपि त्यसको पनि अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन । तालिबानले अहिले देशको उत्तरी क्षेत्रमध्ये धेरै स्थानमा नियन्त्रण गरिसकेको छ । उसले हालसम्म देशको एक तिहाइ भू–भागमा आफ्नो नियन्त्रण कायम गरेको बताइएको छ ।

राजधानी काबुलतर्फ तालिबान अघि बढ्दै गर्दा व्यापक चिन्ताहरू व्यक्त भइरहेका छन् । काबुलमा तालिबानले नियन्त्रण गरेका क्षेत्रबाट अहिले हजारौँ नागरिकहरू भागेर आएका छन् । कान्दहार तालिबानको आरम्भ भएको सहर हो र पहिले यो उसको सबैभन्दा बलियो पकड भएको क्षेत्र रहेको थियो । उनीहरूले उक्त सहरको बाहिरी क्षेत्रमा हप्तौँ पहिले नियन्त्रण गरिसकेका थिए ।

बुधवार तालिबान कान्दहारको केन्द्रीय जेलमा प्रवेश गरेको थियो । त्यस्तै बिहीबार सामाजिक सञ्जालका पोस्टहरूमा तालिबान विद्रोहीहरू सहरका मुख्य केन्द्रहरूमा देखिएका थियो । कान्दहारलाई रणनीतिक महत्वको मानिन्छ किनकी त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल छ। उक्त क्षेत्र देशको मुख्य व्यापारिक केन्द्र पनि हो ।

बिहीबार रणनीतिक रूपले महत्वपूर्ण गज्नीमा नियन्त्रण गरेपछि तालिबानलाई राजधानी काबुललाई नियन्त्रण गर्न बल पुग्ने ठानिएको थियो । उसले तेस्रो ठूलो सहर हेरातलाई पनि कब्जामा लिइसकेको छ।

अमेरिकी नेतृत्त्वको विदेशी सेनाले २० वर्षको सैन्य अभियानपछि केही साताअघि अफगानिस्तान छाडेको थियो । त्यसपछि तालिबानले त्यहाँ दैनिक जसो नयाँ क्षेत्रमा नियन्त्रण कायम गरिरहेको छ ।

क्वाला–ए–नउ सहर पनि तालिबानको नियन्त्रणमा गएको छ । यसैबीच अमेरिकाले काबुलस्थित आफ्नो दूतावासबाट कर्मचारीहरूलाई सुरक्षित रूपमा फिर्ता गर्नका लागि करिब तीन हजार सैनिकहरूलाई काबुल पठाउने भएको छ ।

पेन्टागनका एकजना प्रवक्ताका अनुसार दुई दिनभित्र ती सैनिकहरू काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ हुनेछन् । अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार सुरक्षाका कारण काबुलमा मुख्य कूटनीतिक उपस्थिति मात्र हुनेछ र त्यहाँका कर्मचारीको सङ्ख्या घटाइनेछ । तर दूतावास बन्द नगर्ने उसले जनाएको छ । ब्रिटेनले पनि आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्न ६ सय सैनिकहरूलाई काबुल पठाउँदै छ ।

यसबीच, दोहामा भएको एउटा वार्तापछि अमेरिका, रुस र चीनसहित विश्व शक्ति राष्ट्रहरूले सशस्त्र गतिविधिबाट काबुलको सत्तामा आउने कुनै पनि शक्तिलाई आफूहरूले मान्यता नदिने जनाएका छन् । उनीहरूले अफगानिस्तानमा शान्ति प्रक्रियालाई तीव्र बनाउन आह्वान गरेका छन् । अर्को छुट्टै वक्तव्यमा युरोपेली संघका विदेश नीति प्रमुखले यदि तालिबानले अफगानिस्तानको शक्ति हत्याए ऊ एक्लिने बताएका छन् ।