ग्रीसको इभिया टापुको जङ्गलमा लागेको भिषण डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रकहरु दिनरात सक्रिय रुपमा लागेका छन् । इभिया टापुमा एक सातादेखि भिषण आगलागी भइरहेको छ । डढेलोका कारण हजारौं स्थानीयबासी नराम्रोसँग प्रभावित भएका छन् । ग्रीसको सरकारी टेलिभिजन टिभी अर्टले प्रशारण गरेका दृश्यहरु निकै भयानक देखिएका छन् ।
यी दृश्यमा अग्निनियन्त्रकहरु र स्वयंसेवीहरु इस्टानिया शहर नजिकैको एउटा ठूलो रुखको आड लिएर निरन्तर आगो निभाउने कार्यमा खटिएको देखाइएको छ ताकि त्यस ठाउँबाट डढेलो गाउँतिर फैलन नपाओस् । त्यस रुखको नजिकै एउटा विशाल आगोको ज्वाला देखिएको छ । डढेलो निरन्तर अघि बढेको भन्दै स्थानीय अधिकारीहरुले एभ्गारिया गाउँका बासिन्दालाई अन्यत्र जान आग्रह गरेको छ ।
तर धेरैजसो स्थानीयबासी अटेर गरी आफ्नै घरमा बस्न जिद्दी गरिरहेको एक स्थानीय अधिकारीले बताए । मध्य ग्रीसका गभर्नर फानिस स्पानोसले धेरैजसो गाउँबासीहरु अन्यत्र स्थानान्तरित हुन इच्छुक भए पनि केहीले आगो निभाउने कार्यमा सेवा गरिरहेको बताए । स्पानोसले स्थानीयबासीको सहयोगका कारण धेरै गाउँ डढ्नबाट जोगिएको बताए ।
डढेलोका कारण इभिया, अथेन्स र ग्रीसका अन्य भागका सयौं घर ध्वस्त भइसकेका छन् । गत जुलाईको अन्त्यदेखि शुरु भएको डढेलो रोकिने अझै सम्भावना देखिएको छैन ।आगोबाट बच्न हजारौं मानिस अन्यत्र पलायन भएका छन् ।
ग्रीसका अधिकारीहरुका अनुसार इभियामा झण्डै ६५० जना अग्निनियन्त्रकहरु अहिले आगो निभाउने कार्यमा खटिएका छन् । ग्रीसेली अधिकारीहरुले विषम तापमानका निम्ति जलवायू परिवर्तन मुख्य कारक रहेको बताएका छन् ।
राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा तापमान वृद्धिले विगतमा सोचेभन्दा निकै बढी त्रास सिर्जना गरिरहेको जनाएको छ । गत साता अथेन्स नजिकै दुई व्यक्तिको मृत्यु भएको थियो ।
जसमा एक जना अग्निनियन्त्रक थिए भने एक जना उद्योगी थिए । तेस्रो व्यक्ति भने एक जना बुल्डोजर चलाउने व्यक्ति रहेको थिए । युरोपेली वन डढेलो सूचना केन्द्रले ग्रीसमा गत जुलाई २९ देखि अगस्ट ७ सम्ममा ५६ हजार ६५५ हेक्टर वन क्षेत्र सखाप भएको जनाएको छ ।

प्रतिक्रिया