कोभिडबारे फेसबुकमा फैलिएका मिथ्या सूचनाले मानिसको मृत्युः बाइडन


अमेरिकी राष्ट्रपति जो बाइडनले सामाजिक सञ्जालमा फैलिरहेको कोभिड–१९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको बताएका छन् । फेसबुक सहितका माध्यमहरूले खोप र महामारीका सन्दर्भमा गलत सूचना फैलाइरहेको विषयमा एक जना पत्रकारको प्रश्नमा जवाफ दिँदै बाइडनले यस्तो बताएका हुन् ।

कम खोप दर भएका ठाउँमा सङ्क्रमण विस्तार भइरहँदा ह्वाइट हाउसले महामारीबारेका मिथ्या सूचना नियन्त्रण गर्न फेसबुक विफल भइरहेको टिप्पणी गरेको छ । आफ्नो प्रतिक्रियामा फेसबुकले मानिसहरूलाई कसरी खोपसम्म पहुँच प्राप्त गर्ने भन्ने जानकारी दिएर आफूले जीवन बचाइरहेको टिप्पणी गरेको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूले हाल कोभिड–१९ को कारण बढिरहेको मृत्यु र सङ्क्रमण दर विशेषगरी कोरोनाभाइरसबाट सुरक्षा नअपनाएका मानिसहरूमा देखिएको उल्लेख गरेका छन् । सङ्क्रमणका घटना बढेपछि लस भेगसमा क्षेत्रीय स्वास्थ्य अधिकारीहरूले खोप लगाएका वा नलगाएका दुवै थरी मानिसहरूलाई भिडभाड हुने भवनभित्र मास्क लगाउन भनेका छन् ।

ह्वाइट हाउसले गलत सूचना प्रवाह रोक्न सामाजिक सञ्जालहरूमाथि दबाव बढाउँदै गएको छ । यसअघि ह्वाइट हाउसकी प्रवक्ता जेन सकीले फेसबुक र अन्य माध्यमहरूले खोपका बारेका मिथ्या सूचना नियन्त्रणका लागि पर्याप्त कदमहरू नचालेको बताएकी थिइन् । फेसबुकले जनस्वास्थ्य रक्षाका लागि आफूले आक्रामक कदम चालेको बताएको छ ।

फेसबुकका प्रवक्ता केभीन मकालिस्टरले कम्पनी ’तथ्यमा आधारित नभएका आरोपहरूबाट विचलित नहुने’ बताए । यसअघि पनि फेसबुकले प्रकाशित सामग्रीहरूको नियमन लिएर आलोचना खेपेको थियो । अझै पनि महामारीसँग सम्बन्धित गलत विवरणहरू उक्त माध्यममा प्रशस्तै पाइन्छन् ।

हालसम्म ६७.९ प्रतिशत अमेरिकी वयस्कहरूले खोपको एउटा मात्रा लगाएका छन् र ५९.२ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् । खोप लगाउन योग्य कैयौँ व्यक्तिहरूले आफूहरूलाई खोपमा विश्वास नभएको बताइरहेका छन् । गएको महिना एउटा प्रतिवेदनले फेसबुक, ट्विटर, यूट्युब र इन्स्टाग्राममा खोपविरोधी अभियानकर्ताहरूलाई पछ्याउनेको सङ्ख्या पाँच करोड ९० लाख नाघेको उल्लेख गरेको थियो ।

त्यसपछि फेसबुक, गुगल र ट्विटरका प्रमुख कार्यकारीहरू क्रमशः मार्क जकरबर्ग, सुन्दर पिचाइ र ज्याक डोर्सीलाई अमेरिकी संसद्ले सोधपुछ गरेको थियो । त्यसबेला डोर्सीले ट्विटरले सम्प्रेषित सन्देशहरूलाई निरीक्षण गर्ने बताएका थिए भने पिचाइले भ्रामक सामग्री हटाउन काम गरेको र खोप सम्बन्धी सूचना दिन आफ्नो माध्यमले खेलेको भूमिकाको चर्चा गरेका थिए।