इथियोपियाको तिग्रेमा सरकारको एकतर्फी युद्धविराम,द्वन्द्व समाधानको पहल गर्ने संयुक्त राष्ट्रसंघको भनाई


इथियोपियाको सरकारले विद्रोहीहरुको पकड रहेको क्षेत्र तिग्रेमा युद्धविरामको घोषणा गरेको छ । प्रधानमन्त्री अबी अहमदले वार्ताबाटै समस्याको समाधान गर्न तयार रहेको भन्दै युद्धविरामको घोषणा गरेको बीबीसीले जनाएको छ ।

लामो समयदेखि विद्रोही तिग्रे समूहको सशस्त्र द्वन्द्वका कारण हजारौं विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले सरकार र विद्रोहीको द्वन्द्वका कारण सो क्षेत्रमा ५० लाख भन्दा बढी सर्वसाधारणलाई मानवीय सहायताको खाँचो रहेको औंल्याएको छ ।

पछिल्ला केही हप्तामा विद्रोहीले आफ्ना सशस्त्र गतिविधिलाई तीव्र पारेसँगै सरकारले एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको समाचारमा जनाइएको छ ।टाइगर पीपुल्स लिबरेसन फन्ट टीपीएलएफका प्रवक्ता गेटाच्यू रेडाले विद्रोहीको दवावका कारण सरकारले इकतर्फी युद्धविराम गरेको बताए ।

उनले आफूहरुका मागप्रति सरकार सकारात्मक रहेमात्र वार्ता प्रक्रिया अघि बढ्ने पनि बताएका छन् । यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मानवीय सहायता आवश्यक रहेको ठाउँमा तत्काल सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। उनले राजनीतिक रुपमै समस्याको समाधान खोजेर इथियोपियाको द्वन्द्व समाधानको पहल गर्ने बताएका हुन्।