आफ्नो पहिलो विदेश भ्रमणका क्रममा रहेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई अमेरिका र मेक्सिकोको सीमा क्षेत्रको भ्रमण गर्न दबाब बढिरहेको छ । कीर्तिमानी सङ्ख्यामा आप्रवासीहरूले सीमा पार गरिरहँदा यो विषय उठेको हो ।
एकजना समाचार प्रस्तोताले अमेरिकाको उत्तरी सीमा क्षेत्रमा किन नगएको भन्दै प्रश्न गरेपछि ह्यारिसले त्यसलाई टारेकी थिइन् । गैरकानुनी आप्रवासनबारे चेतावनी दिएपछि आफ्नै डेमोक्रेटिक दलका नेताहरूले उनको चर्को आलोचना गरिरहेका छन् । दुई दशकभन्दा यताकै उच्च अर्थात् एक लाख ७८ हजार आप्रवासीहरू एप्रिल महिनामा सीमामा पुगेका थिए ।
उपराष्ट्रपतिका एकजना सहयोगीले प्रारम्भिक अवस्थामा सिमाना ह्यारिसको जिम्मेवारीमा पर्ने बताएका थिए । मार्च महिनामा राष्ट्रपति जो बाइडनले उनलाई ल्याटिन अमेरिकाबाट भइरहेको आप्रवासन नियन्त्रण गर्ने जिम्मेवारी दिएका थिए । तर पछिल्लो समयमा उनका सहयोगीहरूले राजनीतिक रूपमा विवादित मुद्दाबाट ह्यारिसलाई अलग गर्ने प्रयास गरिरहेका छन् ।
पछिल्लो सर्वेक्षणहरूमा अर्थतन्त्र र महामारीबारेका बाइडनका नीतिहरूलाई सकारात्मक रूपमा लिइए पनि आप्रवासनलाई सम्बोधन गर्ने उसको प्रयास त्यति लोकप्रिय पाइएको छैन । एनबीसी न्यूजको मङ्गलवार बिहान प्रसारित अन्तर्वार्तामा ह्यारिसलाई सीमा क्षेत्रको भ्रमण गर्ने योजनाबारे सोधिएको थियो। जवाफमा उनले कुनै समय हामी सीमामा जानेछौँ र हामी सीमा क्षेत्रमा गएका छौँ भनेर जवाफ दिएकी थिइन् ।

प्रतिक्रिया