९० दिनभित्र कोरोना भाइरसको उत्पत्तिबारे रिपोर्ट पेश गर्न गुप्तचर निकायलाई बाइडेनको आदेश


अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न गुप्तचर निकायलाई आदेश दिएका छन् ।

कोरोना भाइरसको उत्पत्तिका बारेमा विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्तिबारे पत्ता लगाई ९० दिनभित्र रिपोर्ट पेस गर्न आदेश दिएका हुन् । बाइडेनले बुधबार एक वक्तव्य जारी गरी अमेरिकी गुप्तचर निकायलाई आदेश दिएका हुन् ।

राष्ट्रपति बाइडेनले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाले फैलिएको हो भन्ने कुरा पत्ता लगाउन आदेश दिएका छन् । कोरोना भाइरसको संक्रमणको पहिलो घटना सन् २०१९ को डिसेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको राजधानी वुहानमा देखिएको थियो ।

कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर १६ करोड ८० लाखभन्दा बढी संक्रमित भएका छन् भने करिब ३५ लाखको ज्यान गएको छ । चिनियाँ प्रशासनले वुहानको सीफूड मार्केटमा पहिलो पटक संक्रमण देखिएको दाबी गर्दै आएका छन् । वैज्ञानिकहरुले कोरोना भाइरस चमेरो हुँदै कुनै जनावरमार्फत मानिसमा सरेको प्रबल सम्भावना रहेको बताउँदै आएका छन् ।

तर केही दिन पहिले अमेरिकी सञ्चारमाध्यममा छापिएको रिपोर्टमा भने वुहानस्थित एक प्रयोगशालाका कर्मचारी बिरामी भएको बताइएको थियो ।

अमेरिकी गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टमा वुहानमा कोरोना भाइरसको संक्रमित भेटिनुअघि नै वुहानस्थित एक प्रयोगशालाका कर्मचारी बिरामी भएको दाबी गरिएको छ । तर उक्त रिपोर्टको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।