कोलम्बो हुँदै सिंगापुर जान लागेको पानीजहाजमा आगलागी


भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा आगलागी भएको छ । श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स–प्रेस पर्ल मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ ।

श्रीलंकाको नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको जनाएको छ । भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो ।

२५ टन नाइट्रिक एसिड र अरू रसायन पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो। त्यसपछि उक्त जहाजले कोलम्बो पोर्टमा रोकिन खोजेको थियो । जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए ।

तीमध्ये दुई जना घाइते भएका छन् । आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालिएको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए । पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने बताइएको छ।