कोरोना संक्रमणका कारण तहसनहस बनेको ब्राजिलको हृदयविदारक तस्वीर


ब्राजिलमा कोरोना संक्रमणका कारण दैनिकजसो करिव चार हजार मानिसको मृत्यु हुने गरेको छ । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ४० हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि ब्राजिलमा हालसम्म १ करोड ३१ लाख ९३ हजार २०५ जना सङ्क्रमित भएका छन् । हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन् । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको विज्ञहरुको दाबी रहेको छ ।

तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन् । भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ ।