मञ्चमै झगडा परेपछि मिसेस श्रीलङ्काको उपाधि विजेता घाइते


मञ्चमै झगडा भएपछि श्रीलङ्कामा एउटा सौन्दर्य प्रतियोगिताकी विजेताको टाउकोमा चोट लागेको छ । आइतवार पुष्पिका डिसिल्भाले मिसेस् श्रीलङ्का’को उपाधि जितेकी थिइन् । त्यसको केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसिन् । सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिन नहुने ती पूर्वविजेताको भनाइ थियो ।

तर उनको सम्बन्धविच्छेद नभएको पुष्टि भएको भन्दै आयोजकहरूले उक्त उपाधि डिसिल्भालाई फिर्ता दिएका छन् । आइतवार साँझ कोलम्बोमा भएको एउटा समारोहमा निर्णायकहरूले उनलाई सन् २०२१ की विजेता घोषित गरेका थिए । तर सन् २०१९ की विजेता क्यारलाइन जुरीले प्रतियोगिताको नियमानुसार प्रतिस्पर्धी विवाहित हुनुपर्ने भन्दै उनको ताज खोसिन् ।

‘पारपाचुके भएका महिलाले प्रतियोगितामा भाग लिन नपाउने नियम छ। त्यस कारण यो ताज दोस्रो स्थानमा रहेकी प्रतियोगीलाई दिनका लागि म यो कदम उठाउँदैछु,’ उनले दर्शकहरूलाई भनिन् । त्यसपछि उनले रनरअपको शिरमा मुकुट लगाइदिइन्। आँखाभरि आँसु पार्दै डिसिल्भा मञ्चबाट बाहिरिएको उक्त कार्यक्रमको भिडियोमा देखिएको छ ।

आफू छुट्टै बसे पनि सम्बन्धविच्छेद नभएको बताउने डिसिल्भासँग आयोजकहरूले माफी मागेका छन् । फेसबुक पोस्टमा डिसिल्भाले टाउकोमा लागेको चोटका कारण आफू अस्पताल जानुपरेको उल्लेख गरेकी छन् ।

आफूमाथि भएको अनुचित र अपमानजनक व्यवहारका लागि कानुनी कदम चाल्ने पनि उनले बताएकी छन् । मिसेस श्रीलङ्का उक्त देशको प्रमुख सौन्दर्य प्रतियोगितामध्ये एक हो । यसपालि देशका प्रधानमन्त्रीकी पत्नी पनि अतिथिका रूपमा उपस्थित थिइन्।