फिलिपिन्समा लकडाउन तोडेको आरोपमा तीनसय पटक उठबस गर्न लगाइएका व्यक्तिको मृत्यु


फिलिपिन्समा कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको क्वारन्टीन नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप तीन सय पटक उठबस गराएका एक व्यक्तिको मृत्यु भएको छ ।

बिहीबार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए । दण्ड पाएको भोलिपल्ट उनी अचेत भएर लडे र त्यसको केही समयमै उनको मृत्यु भयो ।

कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ । जेनरल ट्राएस सिटीका प्रहरी प्रमुख मार्लो सोलेरोले कर्फ्यूसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यक्तिलाई भौतिक दण्ड दिने नियम नभएको र उनीहरूलाई प्रहरीले सम्झाइबुझाइ मात्रै गर्ने गरेको बताएका छन् । तर सजाय दिएको पाइए त्यो अस्वीकार्य हुने उनले बताएका छन् ।

पीडितका एक आफन्त एड्रिएन लुसेनाले पेनारेडोन्डोको मृत्यु भएको जानकारी फेसबुकबाट दिएका थिए । उनका अनुसार पेनारेडोन्डो र लकडाउनसम्बन्धी नियम उल्लङ्घघन गर्ने अन्य केही व्यक्तिलाई प्रहरीले एकै पटक सकिनेगरी १०० पटकसम्म उठबस गर्न लगाएको थियो । उनका अनुसार सबैले एकै पटक त्यसो गर्न नसके पूरा व्यायाम दोहोर्याउनुपर्ने आदेश दिइएको थियो ।

त्यसैले उक्त समूहका सबै जना ३०० पटक उठबस गर्न उठबस गर्न बाध्य भएको बताइएको छ । पेनारेडोन्डो स्थानीय समयानुसार शुक्रवार बिहान करिब ६ बजे घर पुगेको उनका भाइले जानकारी दिए ।

सँगै बस्दै आएकी प्रेमिकाले स्थानीय सञ्चारमाध्यमलाई पेनारेडोन्डो शुक्रबार दिनभरि हलचल गर्न गाह्रो महसुस गरेको बताइन् । केही समयअघि मात्रै ह्यूमन राइट्स वाचले फिलिपिन्समा नियम नमान्ने मानिससँग दुव्र्यवहार भएको जनाएको थियो ।

उक्त अधिकारवादी संस्थाले मानिसहरूलाई कुकुरको खोरमा हालेको अनि घाममा बस्न बाध्य पारेको पाइएको बताएको छ । बिहीबार गरिएको टेलिभिजन सम्बोधनका क्रममा फिलिपिन्सका राष्ट्रपतिले सर्वसाधारणलाई लकडाउनसम्बन्धी नियमहरूको उल्लङ्घन नगर्न आह्वान गरेका थिए ।