जोर्डनका पूर्वयुवराजलाई कू गर्न खोजेको आरोपमा नजरबन्दमा राखिएको छ । जोर्डनका पूर्वयुवराजले आलोचकहरूलाई कारबाही गर्ने सिलसिलाको एउटा पाटोको रूपमा आफूलाई घरमै नजरबन्दमा राखिएको बताएका छन् ।
उनका वकिलले बीबीसीलाई उपलब्ध गराएको एउटा भिडियोमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुव्र्यवहारको आरोप लगाएका छन् । उनको उक्त भनाइ एउटा सत्ता पलटको आरोप लगाइएको योजनासँग जोडिएका कैयौँ उच्च तहका गिरफ्तारीपछि आएको हो ।
गुप्तचर निकायले हुसेनले अहिलेका राजा अब्दुल्लाहविरूद्ध कू गर्न लागेको सूचना दिएपछि उनको दरबारमा शनिबार छापा मारिएको हो । हुसेन र अब्दुल्लाह सौतेनी आमाका छोरा हुन्। बुवाको मृत्युपछि अब्दुल्लाह सन् १९९९मा जोर्डनका राजा बनेका थिए भने २००५ मा हुसेनको युवराज पद खोसिएको थियो । शनिबारको छापापछि हुसेनका दुई जना उच्च अधिकारीलाई पनि पक्राउ गरिएको छ।
राजधानी अम्मनमा रहेको उनको दरबार वरपरका सडक बन्द गरिएको छ भने शहरका मुख्य नाकाहरूमा प्रहरीले गस्ती गरेको छ । जोर्डनका सेना प्रमुखले विज्ञप्ति जारी गर्दै आफूलाई जोर्डनको सुरक्षा र स्थायित्वलाई लक्षित गरी भइरहेका गतिविधि रोक्न भनिएको उल्लेख गरेका छन् ।
पूर्वयुवराज हुसेन पनि सुरक्षा निकायले गरिरहेको अनुसन्धानको दायरामा परेको सेनाले जनाएको छ । पूर्वराजा हुसेन र उनकी प्रिय रानी नूरका जेठा छोरा राजकुमार हम्जाहले वेलायतको ह्यारो स्कुल र रोयल मिलिटेरी एकेडेमीमा अध्ययन गरेका हुन् ।
उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा पढेका थिए र जोर्डनको सेनामा समेत काम गरेका थिए । सन् १९९९ मा उनलाई जोर्डनको युवराज घोषणा गरिएको थियो। राजा हुसेनले उनलाई बेलाबखत सार्वजनिक रूपमा ‘मेरो आँखाको खुसी’ भनेर व्याख्या गर्ने गर्थे । तर राजा हुसेनको मृत्यु हुँदा उनको उत्तराधिकारी हुनका लागि हम्जाह निकै कम उमेरको र अनुभव नभएको रूपमा देखिए ।

प्रतिक्रिया