मानिसको रगत राखिएको ‘शैतानी जुत्ता’को बिक्री रोकियो


चर्चित कम्पनी नाइकीले ब्रुकलिनको कला सङ्ग्रहालय एमएससीएचएफलाई मानिसको रगतको थोपा भएको विवादित ’शैतानी जुत्ता’विरुद्ध दायर मुद्दा जितेको छ । उल्टो क्रस, पेन्टाग्राम र ’ल्युक १०ः१८’ लेखिएको उक्त जुत्ता नाइकीको एअर म्याक्स नाइन्टीसेभेन एस जुत्ताको स्वरूप परिवर्तन गरेर तयार पारिएको हो।

त्यसको मूल्य १,०१८ डलर राखिएको छ । एमएससीएचएफले र्यापर लिल नास एक्ससँग सहकार्य गरेर ६६६ जोर जुत्ता सोमवार सार्वजनिक गरेको थियो । नाइकीले आफ्नो ट्रेडमार्कको दुरुपयोग भएको दाबी गर्दै त्यसको बिक्री रोक्न मुद्दा दायर गरेको थियो ।

ती सबै जुत्ताहरू एक मिनेटभन्दा कम अवधिमा बिक्री भएको र एउटा बाहेक सबै हुलाकमार्फत् पठाइसकिएको बताइएको छ । कालो र रातो रङ्गका जुत्ता लील नास एक्सको नयाँ गीत सार्वजनिक भएको अवसरमा सार्वजनिक गरिएको थियो ।

यूट्युबमा अघिल्लो साता सार्वजनिक भएको गीतको म्युजिक भिडिओमा ती र्यापरले नाइकी ट्रेनर्स लगाउँदै स्वर्गदेखि नर्क पुग्ने एउटा बाटोमा चिप्लिरहेको देखाइएको छ । उक्त तस्बिर र जुत्ताले बाइबलको श्लोक ल्युक १०ः१८ लाई जनाउँछ। त्यसमा ‘त्यही भएर उनले उनीहरूलाई भने ’मैले शैतान बिजुली चम्किए जसरी स्वर्गबाट खसिरहेको देखे’ भनिएको छ ।

प्रत्येक जुत्ताको सोल नाइकीको प्रख्यात सोल हो जसमा एक थोपा मानिसको रगत सहित थोरै रातो मसी राखिएको छ । ती रगतका थोपाहरू एमएससीएचएफका सदस्यहरूले दान गरेका हुन् ।

‘एमएससीएचएफ र उसले अनुमति नलिएको शैतानी जुत्ताहरूले अन्योल बनाउने एवम् एमएससीएचएफका उत्पादन र नाइकीबीच त्रुटिपूर्ण सम्बन्ध रहेको देखाउने अवस्था छ,’ उक्त कम्पनीले आरोपपत्रमा भनेको थियो । नयाँ जुत्ताका कारण कम्पनीले आफ्नो उत्पादनलाई त्यसरी प्रयोग गर्न अनुमति दिएको भन्ने गलत सन्देश दिएको उक्त कम्पनीको भनाइ थियो ।

साउथ डाकोटाकी गभर्नर क्रिस्टी नोइमसहित कतिपय पुरातनवादी र केही धार्मिक व्यक्तिहरूले जुत्ताको विवादास्पद स्वरूपप्रति आपत्ति जनाउँदै नील नास एक्स र एमएससीएचफलाई ट्विटरमा आलोचना गरेका थिए ।