म्यान्मारमा सुरक्षाफौजबाट योजनाबद्ध र घातक बल प्रयोग गरेको प्रमाण फेला


म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र नियन्त्रणबाहिर जान सक्ने खतरा औँल्याएका छन् ।

सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रु कर्कवूडले बताएका छन् । उनका अनुसार म्यान्मारमा सैन्य कू यता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशतले गोली प्रहारबाट ज्यान गुमाएका छन् । तीमध्ये धेरैको टाउकोमा गोली हानिएको र निशानेबाजहरू दिनदहाडै परिचालन गरिएको कर्कवूडले बताएका छन् ।

शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ । एक दिनअघि परिषद्को एउटा आपत्कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो ।

सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव मात्र बढाउने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका थिए । अघिल्लो शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि ब्रिटेनको आग्रहमा परिषद्को आपत्कालीन बैठक डाकिएको थियो ।

सेभ द चिल्ड्रेनका अनुसार सैन्य कूयता कम्तीमा ४३ जना बालबालिका सशस्त्र फौजबाट मारिएका छन् । सबैभन्दा कान्छो पीडितको उमेर ६ वर्ष रहेको पाइएको उक्त संस्थाले उल्लेख गरेको छ ।

एउटा स्थानीय पर्यवेक्षक समूहका अनुसार कू यता मारिनेको सङ्ख्या हालसम्म ५३६ पुगेको छ । यसैबीच, नेत्री आङ सान सूबीविरुद्ध देशको गोपनीयतासम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोग पनि लगाइएको पाइएको छ ।

सूकीसहित उनका चारजना साझेदारमाथि गत साता नै अभियोग लगाइए पनि १४ वर्षसम्म जेलसजाय हुन सक्ने अभियोग पनि लगाइएको कुरा अहिले थाहा भएको हो । आमनिर्वाचनमा सूकीको नेशनल लीग फर डेमोक्रेसीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएको थियो ।