काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति विद्या भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापित भएपछि पनि सहज रुपमा चल्न नदिने प्रयास भएको भन्दै फेरि पनि प्रतिनिधिसभा विघटन गर्ने चेतावनी दिएका हुन् ।
उनले सरकार र संसद् चल्न नदिए फेरि पनि प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गर्ने बताए । प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गरे । कोभिड–१९ का कारण चाहेर पनि दलहरुसँग भेटघाट गर्न नपाएकाले आज बैठक सर्वदलीय बैठक डाकेको राष्ट्रपतिले बताइन् ।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूले मुलुक यो अवस्थामा आउनुमा जिम्मेवार ठाउँमा भएको व्यक्तिले नसोचेका कारण भएको भनेर आफूले कुरा राखेको जानकारी दिए । उनले भने, ‘मैले भनेँ–तपाईहरु जिम्मेवार ठाउँमा बसेका मान्छेले विचार गर्नुपथ्र्यो । अहिलेको स्थिति कसरी आयोग भनेर राष्ट्रप्रमुख पनि सरकार प्रमुखलाई पनि पुग्नेगरी मैले भनेको छु । २०६२/६३ सालमा जुन उपलब्धि भयो । यीनै राजनीतिक पार्टीका कारणले यो उपलब्धि फेरि गुम्नेवाला छ । गणतन्त्रमा कालोबादल मडारिसकेको छ । यसको कारण चाहिँ सम्बन्धित ठाउँबाट राष्ट्रपति र सरकार प्रमुखबाट बढी गल्ती भएको छ भने मैले ।’
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ताजाजनादेश लिन चुनावमा जानुपर्ने बताएका र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा कुरा गरेको केसीले जानकारी दिए । बैठकमा सहभागी राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारको काम कारबाहीबाट जनता निराश भएको बताएका थिए ।
लोहनीले भने, ‘नेपाली जनताले राजनीतिक स्थिरता गतिशीलताको संयोजनमा अडेको गुणस्तरीय आर्थिक विकासको आशा गरेका थिए । तर जनता यि तीन बुँदाबाट निराश छन् । यसै कारण देशमा गम्भीर राजनीतिक संकट आएको छ । यो संकटको समाधान हाम्रो संविधानको परिधिभित्र रहेर खोज्नु पर्छ ।’ प्रधानमन्त्रीले सबै राजनीतिक दलहरुसँग संवाद र सहमति गरी आफ्नो क्षमता देखाइ संसदमा आफ्नो पक्षमा समर्थन देखाउन सुझाव दिएको लोहनीले जानकारी दिए ।
बैठकमा नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम भने उपस्थित भएका थिएनन् । बैठकमा बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव ईश्वर पोखरेल नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइाराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ, जनता समाजवादी पार्टीबाट शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो सहभागी थिए । यसैगरी राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र नेमकिपाका नेता प्रेम सुवाल सहभागी भएका थिए ।

प्रतिक्रिया