युरोपेली देशहरूले अक्सफर्ड-आस्ट्राजेनेका खोप वितरणमा अस्थायी रोक लगाइरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले त्यसो गर्न आवश्यक नरहेको बताएको छ ।
खोप र रगत जम्ने अवस्थाबीच कुनै सम्बन्ध रहेको प्रमाण नभएको उसको भनाइ छ । जर्मनी, फ्रान्स, इटली र स्पेनले उक्त खोपको प्रयोग रोक्न साना देशहरूले चालेका कदमलाई पछ्याएका छन् ।
गरिएका दाबीबारे अनुसन्धान भइरहेका बेला ती देशहरूले भने सावधानीका उपायका रूपमा त्यसो गरिएको जनाएका छन् । डब्ल्यूएचओका खोप सुरक्षा विज्ञहरूले यसबारे मङ्गलवार छलफल गर्दैछन् । त्यसैदिन युरोपेली औषधि निकाय (ईएमए)ले समेत बैठक गर्दैछ र उसले बिहीवार निष्कर्ष सार्वजनिक गर्दैछ। उसले खोपको प्रयोग जारी राख्नुपर्ने जनाएको छ ।
उक्त खोप लगाएपछि युरोपमा रगत जम्ने अवस्था विकास भएका कयौँ घटना देखा परेका थिए । विज्ञहरूका भनाइमा ती आम जनसङ्ख्यामा देखापर्ने रगत जम्ने घटनाभन्दा बढ्दा नभएको बताएका छन् ।
आस्ट्राजेनेकाका अनुसार गत सातासम्ममा रगत जम्ने त्यस्ता घटना ४० भन्दा कम देखा परेका छन् । जर्मनीको स्वास्थ्य मन्त्रालयले सोमवार देशको खोपसम्बन्धी एक आधिकारिक निकायको सुझावमा भन्दै तत्काल लागु हुनेगरी अक्सफर्ड–आस्ट्राजेनेका खोपको वितरण रोक्ने जनाएको थियो । स्वास्थ्यमन्त्री जेन्स स्पानले उक्त निर्णय राजनीतिक नरहेको बताएका छन् ।
त्यसको केहीबेरमा ईएमएको नयाँ सूचना नआउँदासम्मको लागि भन्दै फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रोले समेत फ्रान्समा उक्त खोप रोकिएको जनाएका थिए । आइरिस रिपब्लिक, पोर्चुगल, डेनमार्क, नर्वे, बुल्गरिया, आइसल्याण्ड र स्लोभेनियाले खोप दिने कामलाई अस्थायी रूपमा रोकेका छन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गो र इन्डोनेशियाले खोप कार्यक्रम पर सारेका छन्।
अस्ट्रियासहितका केही युरोपेली देशले खोपका केही खेप प्रयोग गरेका छैनन् । युरोपेली सङ्घ र ब्रिटेनमा गरेर झण्डै एक करोड ७० लाखले यस खोपको एउटा खेप लिइसकेका छन् ।
बेल्जियम, पोल्याण्ड, द चेक रिपब्लिक र युक्रेनले भने आफूहरूले खोपको प्रयोग जारी राख्ने बताएका छन् । थाइल्याण्डले केही ढिलो गरी मङ्गलवारबाट उक्त खोप दिन सुरु गर्दैछ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशमा प्रयोग भएका आस्ट्राजेनेका सहितका खोपहरू सुरक्षित रहेको भन्नेमा स्वास्थ्य विज्ञहरूले आफूलाई आश्वस्त पारेको बताएका छन्।

प्रतिक्रिया