म्यान्मारमा गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले कम्तिमा ३८ जना प्रदर्शनकारीहरूलाई मारिदिएको त्यहाँका अभियानकर्मीहरूले बताएका छन् ।
द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएका जनाएको छ । बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन् ।
याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो । त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागु गरिएको जनाइएको थियो ।
चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन् । औद्योगिक क्षेत्रमा सुरक्षा फौजले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए ।
बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाइएको छ । क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ । एउटा चिनियाँ होटलमा समेत हमला भएको बताइएको छ ।
आफ्नो फेसबुक पेजमा चिनियाँ दूतावासले ’केही उद्योगहरूमा लुटपाट गर्दै क्षति पु्याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएको’ जनाएको छ ।
दूतावासले म्यान्मारलाई ’हिंसा रोक्न थप प्रभावकारी उपायहरू अपनाउँदै दोषीलाई कानुन अनुसार कारबाही गर्न र म्यान्मारमा रहेका चिनियाँ नागरिक एवम् सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न’ आग्रह गरेको थियो ।
फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएयता म्यान्मारमा प्रदर्शनहरू भइरहेका छन् । नेतृ तथा नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी प्रमुख आङ सान सूकी नजरबन्धमा छिन् । त्यसलाई अस्वीकार गर्ने कतिपय सांसद्हरूले भूमिगत रहेर आन्दोलन अगाडि बढाइरहेका छन् ।

प्रतिक्रिया