कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेपछि पश्चिम भारतको नागपुरमा पुनः लकडाउन सुरु भएको छ । मार्च १५ सोमबार सुरु हुने साताव्यापी लकडाउन नागपुर वरपरका जिल्लाहरू पनि लागु हुने बताइएको छ ।
नागपुर रहेको महाराष्ट्र राज्य पहिलेदेखि नै सबैभन्दा धेरै सङ्क्रमित भएका कारण सङ्क्रमणको केन्द्रमा रहेको छ । भारतमा हालसम्म एक करोड १० लाखभन्दा बढीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ लाख ५७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । हालैका महिनामा सङ्क्रमण बढेको र महाराष्ट्रसहित ६ राज्यमा फेरि बढ्न थालेको तथ्याङ्क छ ।
महाराष्ट्रकै अमरावती जिल्लामा फेब्रुअरीमै साताव्यापी लकडाउन गरिएको थियो । वैज्ञानिकहरूले नयाँ प्रकारको कोरोनाभाइरसका कारण सङ्क्रमण फेरि बढ्न थालेको हुनसक्ने बताएका छन् ।
भारतमा अहिलेसम्म दुई करोडभन्दा बढीलाई कोभिड खोपको कम्तीमा एक मात्रा दिइसकिएको छ । नागपुरमा गएको दुई साता प्रतिदिन एक हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको थियो। गत २४ घण्टामा त्यहाँ २ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । भारतभरिमा महाराष्ट्रकै पुणेपछि नागपुर १३ हजार ८०० सक्रिय सङ्क्रमित सहित सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएको जिल्लामा पर्छ।

प्रतिक्रिया