थाइल्यान्डमा कोभिड खोप कार्यक्रम स्थगित


थाइल्यान्डले ‘अप्रमाणित रगत जम्ने समस्या’को डरका कारण अस्ट्राजेनेकाको खोप लगाउने कार्यलाई ढिलो गर्ने बताएको छ । थाइल्यान्डका प्रधानमन्त्रीले खोप वितरण शुक्रवार उद्घाटन गर्ने कार्यक्रम थियो तर यो हाललाई स्थगित गरिएको छ ।

डेनमार्क र नर्वेसहित केही देशहरूले यो खोप लगाउने कार्य स्थगित गरेका छन्। नेपालमा लगाइएको खोप पनि अस्ट्राजेनेकाको खोप हो । हालसम्म ५० लाखभन्दा बढी युरोपेली नागरिकले यो खोप लगाइसकेका छन् ।

तीमध्ये ३० जनामा रगत जम्ने समस्या देखिएको थियो । तर युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभएको जनाएको छ ।

त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको उसले जनाएको छ । युरोपेली मेडिसिन्स एजेन्सी ईएमएले खोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै सङ्केत प्राप्त भएको नभएको जनाएको छ ।