ब्रिटेनले सबै कोभिड–१९ खोपको निर्यातमा प्रतिबन्ध लगाएको भनी एक वरिष्ठ युरोपेली अधिकारीले गरेको टिप्पणी पूर्ण रूपमा असत्य भएको ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले बताएका छन् ।
युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले साप्ताहिक ब्रिफिङका बेला उक्त टिप्पणी गरेका थिए । यसलाई लिएर विदेशमन्त्री राबले लन्डनस्थित ईयूका प्रतिनिधिलाई विदेश मन्त्रालयमा छलफल गर्न बोलाएका छन्। साथै, उनले मिशेललाई पत्र पनि लेखेका छन् ।
यही जनवरीमा ब्रिटेनले ब्रेक्जिटमार्फत् युरोपेली युनियनसँगको सम्बन्धविच्छेद गरेको थियो । त्यसयता ब्रसल्स र लन्डनबीच विभिन्न विषयमा मतभेद सार्वजनिक भइसकेका छन्। खोपलाई लिएर यो मतभेद त्यतिखेर आएको छ जतिखेर खोप कार्यक्रममा भएको ढिलाइका कारण ईयूको आलोचना भइरहेको छ भने ब्रिटेनले चाहिँ सफल खोप वितरण गरिरहेको भनेर प्रशंसा बटुलिरहेको छ ।
यसअघि जनवरीमै ईयूले खोप निर्यातमा नियन्त्रणबारे नयाँ नियम ल्याएको थियो जसअन्तर्गत उत्पादकहरूले पूर्वयोजनाअनुसार विक्रीवितरण गर्न पनि राष्ट्रिय सरकारहरूसँग अनुमति लिनुपथ्र्यो । उक्त कदमले ब्रिटेनसँग तिक्तता बढाएको थियो ।
त्यसपछि दुई पक्षले गत वर्ष सहमति गरेको उत्तर आयरल्यान्डको सीमा व्यवस्थापनको कार्यान्वयन पनि विवादको विषय बनेको थियो । २७ राष्ट्र सदस्य भएको ईयूका नेता मिशेलले ईयूमाथि ’खोप राष्ट्रवाद’ को आरोप लागेकोमा आश्चर्य प्रकट गरेका थिए । उनले ईयूले कहिले पनि खोपको निर्यात नरोकेको जनाए।

प्रतिक्रिया