अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले मङ्गल ग्रहबाट उसको पर्सिभिअरन्स रोभरले पठाएको एउटा अद्भुत तस्बिर सार्वजनिक गरेको छ । बिहीवार खिचिएको उक्त तस्बिरमा मोटर गाडीझैँ देखिने रोबट अवतरणका लागि मङ्गल सतहमा झर्दै गरेको देखिन्छ । उक्त तस्बिर रोबटलाई झुलाउँदै सतहमा राख्ने रकेट क्रेडलले पठाएको हो ।
पर्सिभिअरन्सले आफूसँग ठूलो परिमाणमा विवरणहरू सङ्कलन गरेको छ जुन उसले क्रमैसँग पृथ्वीमा पठाउनेछ । अन्य तस्बिरहरूमध्ये एउटा भूउपग्रहबाट खिचिएको छ जसले प्यारासुटमार्फत् अवतरणको अवस्था देखाउँछ । यसले प्रविधिको अद्भुत सफलता देखाउँछ किनकि ’द मार्स रिकनेसन्स अर्बिटर’ नामको भूउपग्रह तस्बिर खिच्ने बेला पर्सिभिअरन्सभन्दा झण्डै ७ सय किलोमिटर पर थियो ।
र त्यो प्रतिसेकेन्ड ३ किलोमिटरका दरले मङ्गल ग्रहलाई घुमिरहेको थियो । माथिको यो तस्बिर रोभरले मङ्गल ग्रहको सतह छुनुभन्दा झण्डै दुई मिटरजति माथिबाट खिचिएको हो । इञ्जिनियरहरूले पर्सिभिअरन्सको अवस्था राम्रो रहेको विवरण आफूहरूले पाएको बताएका छन् । पर्सिभिअरन्स रोभर जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको हो ।
जहाँ अर्बौँ वर्षअघि एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ । जेजेरो क्रेटरको विस्तृत तस्बिरहरू भने अर्को साता आउनेछ जतिखेर पर्सिभिअरन्सले आफ्नो बाटो पहिल्याउने उपकरण ठड्याउने छ जसमा मुख्य वैज्ञानिक क्यामेराहरू राखिएका छन्।


प्रतिक्रिया