विश्वको नेतृत्व गर्न अमेरिका फर्कियोः विदेशमन्त्री ब्लिङ्कन


अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको भन्दै महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकांक्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको बताएका छन् । आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्ताको रूपमा बीबीसीसँग कुरा गर्दै ब्लिङ्कनले कोभिड १९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिए ।

उनले कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेका छन् । यसलाई डोनल्ड ट्रम्पको ’अमेरिका पहिलो’ नीतिमा व्यापक हेरफेर हुने सङ्केतका रूपमा हेरिएको छ ।

विश्वका धनी औद्योगिक राष्ट्रहरूको समूह जी ७ का नेताहरू एउटा भर्चुअल सत्रका लागि जुटिरहेका बेला ब्लिङ्कनको यो धारणा आएको छ । एक वर्षभित्र विश्वका १९० देशका मानिसहरूलाई दुई अर्ब मात्रा खोप दिने उद्देश्य राखेको कोभ्याक्स खोप कार्यक्रमका लागि अमेरिकाले ४ अर्ब डलर सहयोग गर्दैछ ।

‘जबसम्म विश्वका सबैले खोप लगाउँदैनन्, त्यसबेलासम्म वास्तवमा कोही सुरक्षित हुँदैनन्। किनकी भाइरस रहिरह्यो भने त्यो फैलिरहन्छ र उत्परिवर्तन समेत हुन्छ,’ ब्लिङ्कनले भने ।

अहिलेसम्म अमेरिकाले २ करोड ७० लाखभन्दा धेरै सङ्ख्यामा आफ्नै जनसङ्ख्यामा खोप लगाएको छ । तर कैयौँ गरिब देशहरूमा खोप कार्यक्रम अझै सुरु हुन सकेको छैन । ब्लिङ्कनले कोरोनाभाइरसको उत्पत्तिका वियमा प्रकाश पार्न सक्ने सूचना उपलब्ध गराउन चीन असफल भइरहेको समेत आरोप लगाए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसन्धानकर्ताहरूको एउटा टोलीले सन् २०२१ को सुरुमै चीनमा चार साता बिताएको थियो । तर त्यसपछि डब्ल्यूएचओको उक्त टोलीका दुईजना विज्ञहरूले उनीहरूले खोजेका विवरणमा चीनले पूर्ण पहुँच दिन अस्वीकार गरेको बताएका थिए । विदेशमन्त्री ब्लिङ्कनले महामारीहरू पूर्ण स्वरूपमा देखिनुअघि नै पहिचान गर्नका लागि अझ बलियो स्वास्थ्य सुरक्षा प्रणालीको आवश्यकता औँल्याएका छन् ।