नाइजेरियाकी पूर्वअर्थमन्त्री विश्व व्यापार संगठनको प्रमुखमा नियुक्त


नाइजेरियाकी पूर्वअर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रमुखमा नियुक्त भएकी छन् । डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल भएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनहरुमा निकै संकटबाट गुज्रिनु परेको डब्लुटिओलाई विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक संकटबाट मुलुकहरुलाई राहत प्रदान गर्न डब्लुटिओको काँधमा ठूलो जिम्मेवारी छ ।

व्यापार क्षेत्रको यस शक्तिशाली संस्थाको महानिर्देशक पदमा नियुक्त भएसँगै उनले सुदृढ डब्लुटिओ धेरै मुलुकको चाहना रहेको बताएकी छन् । नवनियुक्त ६६ वर्षीया अर्थशास्त्री ओकोन्जोले यसअघि विश्व बैंकमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन् ।

उनलाई डब्लुटिओको महानिर्देशकमा नियुक्त गर्न सदस्य राष्ट्रहरुले भर्चुअल विधिबाट मतदान गरेका थिए । लगभग निस्कृय र पक्षघातकै अवस्थामा पुगेको डब्लुटिओलाई पुनर्जीवित तुल्याउनु पनि ओकोन्जोको काँधमा ठूलो जिम्मेवारी आएको छ ।

महानिर्देशक पदमा विजयी भएसँगै उनले भनिन्, “कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक क्षतिलाई पूर्ण र तिब्र गतिमा पुनर्जीवित तुल्याउने हो भने सुदृढ डब्लुटिओ निकै महत्वपूर्ण छ ।”

उनले डब्लुटिओका सामुन्ने धेरै चुनौतीहरु रहेका छन् भन्दै मिलेर कार्य गरिए डब्लुटिओलाई अझ बलियो, बढी जीवन्त र आजका यथार्थसँग अझ अनुकूलित बनाउन सकिने बताइन् । ओकोन्जोले आगामी मार्च १ देखि कार्यभार सम्हाल्नु हुनेछ र उनको कार्यकाल सन् २०२५ को अगष्ट ३१ सम्म हुनेछ ।

एक जना पश्चिमी मुलुकका कुटनीतिज्ञले ओकोन्जो महिला भएको वा अफ्रिकाकी भएकैले नछानिएको बताउँदै डब्लुटिओका सामुन्ने उत्पन्न चुनौतीलाई सामना गर्नसक्ने योग्यता, अनुभव र गुण ओकोन्जोमा रहेको स्पष्ट गरे ।

जेनेभामा मुख्यालय रहेको डब्लुटिओ गत वर्ष अगष्टदेखि नै नेतृत्वविहीन छ । एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटिओमा नयाँ प्रमुखको नियुक्ति हुन सकेको थिएन ।

विश्वका १६४ मुलुक सदस्य रहेको यस संस्थाको नेतृत्व चयन सहमतिका आधारमा गर्ने प्रचलन रहिआएको छ । शुरुमा आठ जना उम्मेदवार रहेपनि गत नोभेम्बरमा तीमध्ये एक व्यक्तिको नाम सिफारिस गरिएको थियो ।

तर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ओकोन्जोको नाममा असहमति जनाएर विवाद खडा गरिदिएको थियो । ट्रम्प प्रशासनले दक्षिण कोरियाली व्यापार मन्त्री यू म्युङ–हीलाई नियुक्त गर्न चाहेको थियो । तर अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन नियुक्त हुने पक्का भएपछि म्युङ–हीले आफ्नो नाम सम्भावित सूचीबाट हटाएका थिए । बाइडेनले ओकोन्जोको नामलाई अनुमोदन गर्ने संकेत गरेको थियो ।