भारतको मध्य प्रदेशको सिधी जिल्लामा एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा २० जना पुरुष, १६ जना महिला र एक चार वर्षीय बालक छन् ।
बसका यात्रुमध्ये ७ जनाको जीवितै उद्दार गरिएको छ । बसका चालक पौडिएर बाच्न सफल भएका छन् । उनलाई हिरासतमा राखिएको छ ।
मध्य प्रदेशको राजधानी भोपालदेखि झण्डै साढे पाँच सय किलोमिटरमा पर्ने रामपुर नैकिनमा बिहान बस वाणसागर नदीमा खसेको हो । नदीको गहिराइ २२ फिटसम्मको भएको समाचारमा उल्लेख गरिएको छ ।
बसमा ५० जना यात्रु रहेको अनुमान गरिएको भए पनि स्थानीय प्रशासनले भने दुर्घटनाग्रस्त बसमा कति जना रहेको भन्नेबारेमा यकिन भइ नसकेको जनाएको छ । बेपत्ता यात्रुहरूको गोताखोरले खोजी गरिरहेका छन् ।

प्रतिक्रिया