सैन्य ‘कु’ विरुद्ध प्रदर्शन चर्किएपछि म्यानमारको सेनाले प्रदर्शनकारीलाई २० वर्षसम्म जेल हाल्ने चेतावनी दिएको छ ।
प्रदर्शनकारीहरूले सशस्त्र बलहरू माथि अवरोध खडा गरेमा उनीहरूले २० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन सक्ने सेनाले चेतावनी दिएको बीबीसीले जनाएको छ ।म्यान्मारका विभिन्न सहरहरूमा हतियारसहितका गाडीहरू गुडिरहेका बेला कानून परिमार्जन पनि गरिएको सेनाले घोषणा गरेको छ ।
परिमार्जित कानुनमा अब बोलेर, लेखेर वा साङ्केतिकसहित जुनसुकै रूपमा सेनाप्रति घृणा बढाउने काम गरेको पाइए जेल सजायसहित जरिवानाको व्यवस्था गरिने उल्लेख छ।
आफ्नो वेबसाइटमा प्रकाशन गरिएको विज्ञप्तिमा उसले सुरक्षा निकायको काम कारबाहीमा अवरोध खडा गरेमा २० वर्ष सम्म जेल सजाय हुन सक्ने उल्लेख गरेको हो।
त्यस्तै सर्वसाधारणहरूमा डर वा अशान्ति पैदा गर्न खोजेको पाइएमा तीन देखि सात वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ।सैन्य सरकारले पक्राउ गर्न सक्ने, खोजतलास गर्न सक्ने र मानिसहरूलाई अदालतको आदेश बिनै २४ घण्टासम्म पक्राउ गर्न सक्ने अधिकार पनि प्रत्यायोजन गरेको छ।
सेनाले प्रजातान्त्रिक नेतृ आङ सान सुकीलाई फेब्रुअरी १ मा हिरासतमा लिएर उनको सरकारलाई हटाएपछि म्यानमारमा विरोध प्रदर्शन चर्किरहेको छ ।
प्रदर्शनकारीहरूले नजरबन्दमा रहेकी नेत्री आङ सान सुकीको रिहाइ र प्रजातन्त्रको पुनर्बहालिको माग गरिरहेका छन्।सोमवार सू चीका वकिलले उनलाई थप दुई दिन हालकै अवस्थामा राखिने जानकारी दिए।
उनीमाथि गैरकानुनी रूपमा आफ्नो सुरक्षार्थ खटिएका कर्मचारीहरूले प्रयोग गर्ने वाकिटकी राखेको लगायतका आरोप लगाइएको छ।

प्रतिक्रिया