ट्रम्पविरुद्ध बदलाको अभियान चलाइएको उनका वकिलहरूको आरोप


अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध माथिल्लो सदन सिनेटमा चलिरहेको महाभियोगसम्बन्धी सुनुवाइका क्रममा उनका वकिलहरूले डेमोक्रेटिक दलले ट्रम्पविरुद्ध बदलाको अभियान चलाएको आरोप लगाएका छन् ।

सिनेटमा महाभियोग लगाउनु पर्ने कारणहरू प्रस्तुत गर्ने क्रममा डेमोक्रेटिक दलका नेताहरूले यो साता जनवरी ६ मा भएको क्यापिटल भवन हमलाका कैयन् भिडिओ फुटेज समेत प्रदर्शन गरेका थिए ।

ट्रम्पका वकिलहरूले शुक्रवार डेमोक्रेटिक दलका तर्कहरूको प्रतिवाद गर्दै यस्तो बताएका हुन् । ट्रम्पले ती घातक हमला गर्न समर्थकहरूलाई उक्साएको आरोपलाई खण्डन गर्दै वकिलहरूले ट्रम्पको अभिव्यक्तिलाई अमेरिकी संविधानले रक्षा गर्ने जिकिर गरे । साथै उनीमाथि लगाइएका आरोपहरू ’भयानक झुट’ भएको समेत वकिलहरूले बताएका थिए ।

वकिल माइकल भान डेर भिनले समग्र महाभियोग सुनुवाइलाई नै डेमोक्रेटहरूले थालेको राजनीतिक पूर्वाग्रहप्रेरित कारबाहीको संज्ञा दिए । क्यापिटल भवनमा अनधिकृत प्रवेश शुरु हुने बित्तिकै राष्ट्रपतिले ट्विटरमार्फत् दिएका दुई सन्देशमा समर्थकहरूलाई शान्तिपूर्ण रहनु अनि हामी कानुनव्यवस्था पक्षधर दल भएका हिंसा नगर्नु भनेका वकिलले बताए ।

यसअघि महाभियोग पारित गर्नुपर्ने पक्षमा रहेका डेमोक्रेट दलका नेताहरूले ट्रम्पलाई जबाफदेही नबनाइए उस्तै घटना फेरि दोहोरिन सक्ने चेतावनी दिएका थिए । तल्लो सदन प्रतिनिधिसभाले यिनै आरोपमा ट्रम्पमाथि महाभियोग लगाइसकेको छ ।

तर महाभियोग पारित गर्न सिनेटको पनि समर्थन चाहिन्छ । महाभियोग पारित गर्न सिनेटमा दुई तिहाइको बहुमत आवश्यक पर्छ जबकी डेमोक्रेटहरूसँग केवल सामान्य बहुमत मात्र छ ।