अमेरिकाद्वारा म्यान्मारका सैनिक नेताविरुद्ध प्रतिबन्ध घोषणा


अमेरिकी राष्ट्रपति जो बाइडनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित हुनेछ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ ।

कूविरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो । मङ्गलवार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए ।

म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् । नेतृ आङ सान सूचीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ ।

सूचीसहित कैयौँ वरिष्ठ नेतालाई सेनाले नजरबन्दमा राखेको छ । तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कर्फ्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन् । अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सूचीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन् ।

आवश्यक परेको खण्डमा थप कदम चाल्ने बाइडनले चेतावनी दिएका छन् । पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साता आफ्नो प्रशासनले गर्ने बाइडनले बताएका छन् । यसअघि रोहिंज्या मुस्लिमहरूविरुद्ध दमन गरेको आरोपमा म्यान्मारका कैयौँ वरिष्ठ अधिकारीहरूलाई अमेरिकाले कालोसूचीमा राखिसकेको छ ।