ट्रम्पलाई महाअभियोग लगाउन नमिल्ने उनका वकिलको तर्क


महाभियोगसम्बन्धी आरोपबारे जवाफ दिँदै अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका वकिलहरूले उनका समर्थकहरूले आफ्नै विवेकमा संसद् भवनमाथि आक्रमण गरेका बताएका छन् । वाशिङ्गटनस्थित क्यापिटल भवनमाथि गत जनवरी ६ मा आक्रमण भएको थियो ।

मङ्गलवारबाट अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा महाभियोगसम्बन्धी सुनुवाइ शुरू हुँदैछ । गत महिना तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो । हिंसात्मक दङ्गा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई हिंसाका लागि उक्साएको उनीमाथि आरोप छ ।

ट्रम्पले चाहिँ महाभियोगसम्बन्धी सुनुवाइमा आफू बयान दिन नआउने बताउँदै आएका छन् । उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने त्यति बेला संसद् भवनभित्र रहेका सांसदहरू लुक्न बाध्य भएका थिए । अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन् । त्यसैगरी अमेरिकामा महाभियोग लगाइएका कुल तीनमध्ये एक राष्ट्रपति पनि उनी हुन् ।

सुनुवाइपूर्व सोमवार सार्वजनिक विवरणअनुसार ट्रम्पका वकिलहरूले सङ्घीय अनुसन्धान निकाय एफबीआईका दस्तावेजहरूबाट जनवरी ६ को घटना हुनुभन्दा केही दिन पहिल्यै त्यसको योजना बनाइएको देखिएको उल्लेख गरेका छन् ।

त्यसको अर्थ त्यो दिनको दङ्गाका लागि ट्रम्पले नउक्साएको उनीहरूले बताएका छन् । ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु असंवैधानिक भएको पनि दाबी गरेका छन् । उनी अहिले पदमा नरहेको र आमनागरिक भइसकेको वकिलहरूको तर्क छ । उनीहरूले महाभियोग प्रक्रियालाई डेमोक्रेटहरूद्वारा गरिएको राजनीतिक नौटङ्की र एउटा निर्लज्ज राजनीतिक कार्यको सङ्ज्ञा दिएका छन्।