सैनिक कु पछि म्यान्मारमा इन्टरनेट बन्द


म्यान्मारको सैनिक सत्ताले सोमवार भएको कूविरुद्ध हजारौँ मानिसहरू ठूलो र्यालीमा सहभागी भएपछि इन्टरनेट बन्द गरिदिएको छ । निगरानी समूह नेटबल्क्स इन्टरनेट अब्जरभेटरीका अनुसार इन्टरेनटमा करिब पूर्ण अवरोध छ र सामान्य अवस्थाको इन्टरनेट सम्पर्क सेवा १६ प्रतिशतमा झरेको छ । देशको मुख्य सहर याङ्गुनमा भिडले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । दङ्गा प्रहरीहरूले सहरको मुख्य भागमा मुख्य मार्गहरू बन्द गरेका छन्।

प्रदर्शनका निम्ति मानिसहरू परिचालन गर्न नदिन सेनाले इन्स्टाग्राम र ट्विटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो । एक दिनअघि फेसबुकमा प्रतिबन्ध लगाइएको थियो । कैयौँ मानिसले भर्चूअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध छलेका छन् । तर अन्यथा सबैजसो सेवा गम्भीर रूपमा अवरुद्ध भएको छ । समाचारसंस्था रोयटर्सका अनुसार नागरिक समाजका सङ्गठनहरूले अवरोध निर्देशनको अवज्ञा गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवालाई आग्रह गरेका छन् ।

मानवाधिकारवादी समूह एम्नेस्टी इन्टरनेशनलले सेवा अवरोधलाई घृणित र धृष्ट कदम भनेको छ । सेनाले अवरोधबारे कुनै टिप्पणी गरेको छैन । उसले फेब्रुअरी १ मा भएको कूसँगै इन्टरनेट सेवामा आंशिक रोक लगाएको थियो । शनिवार उद्योगका श्रमिक र विद्यार्थीसहित प्रदर्शनकारीहरूले सेनाद्वारा बन्दी बनाइएका निर्वाचित नेत्री आङ सान सूची र अन्यलाई रिहा गर्न माग गरेका छन् ।

याङ्गुन सहरका सडहरूमा र्याली भइरहँदा नगरबसहरूले हर्न बजाएर त्यसमा समर्थन जनाएका थिए । दर्शकहरूले तीनवटा औँला उठाउँदै अभिवादन गरेका थिए । त्यसरी गरिने हङ्गर गेम्स सलूट उक्त क्षेत्रमा तानाशाहविरुद्धको साङ्केतिक अवज्ञा बन्न पुगेको छ । प्रदर्शनकारीहरूले प्रहरीहरूलाई गुलाफको फूल र पिउने पानी दिएर नयाँ शासकलाई नभई जनतालाई समर्थन गर्न आग्रह गरेका थिए ।