भारतमा कृषि कानूनविरुद्ध किसानको आन्दोलन जारी छ । किसानले शनिबार दिउँसो १ बजेदेखि ३ बजेसम्म देशभरी चक्काजामको घोषणा गरेका छन् । किसान नेताको तर्फबाट दिल्ली एनसीआरमा चक्काजाम गर्ने घोषणा गरिएको छ । २६ जनवरीको दिन भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमामा सुरक्षा कडा पारिदिएको छ ।
टिकरी, सिंघु र गाजीपुर सीमामा सुरक्षा बढाइदिएको दिल्ली प्रहरीले जानकारी दिएको छ । दिल्लीभित्र पनि सुरक्षाका कडा प्रबन्ध मिलाइएको छ । नयाँ दिल्लीका डिसीपीले दिल्ली मेट्रोका अधिकारीलाई पत्र लेखेर आवश्यकता पर्दा राजिव चोक, केन्द्रीय सचिवालयसमेत इलाकाका १२ मेट्रो स्टेशनमा शर्ट नोटिसमा बन्द गर्नका लागि तयार हुन भनेको छ ।
दिल्ली प्रहरीका अनुसार किसानसँग कुनै कुरा हुन सकेको छैन । यसबारे अन्य माध्यममार्फत् किसानले दिल्लीमा चक्काजाम नगर्ने पत्ता लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । किसानले दिल्लीमा चक्काजाम नगर्ने घोषणापश्चात् पनि प्रहरी कुनै पनि प्रकारको स्थितीसँग जुध्नका लागि पूर्ण रुपमा तयार भएको जानकारी दिएको छ ।
यसैबिच, भारतमा भइरहेको किसान आन्दोलनका बारेमा संयुक्त राष्ट्रले पहिलो पटक प्रतिक्रिया दिएको छ । संयुक्त राष्ट्रको मानवाधिकार संस्थाले भारतमा भइरहेको किसान आन्दोलनलाई लिएर प्रशासन र प्रदर्शनकारी दुवैले अधिकतम संयमता अपनाउन अपील गरेको छ। युएन ह्यूमन राइट्सले शान्तिपूर्ण रुपमा हुने प्रदर्शनका लागि अफलाइन र अनलाइन दुवै अधिकार सुरक्षित हुनुपर्ने बताएको हो ।
सबैको मानवाधिकारको सम्मान गर्दै न्यायसंगत समाधान निकाल्न पनि आग्रह गरिएको छ। संयुक्त राष्ट्रले भारतमा पछिल्लो दुई महिनादेखि भइरहेको किसान आन्दोलनबारे प्रतिक्रिया जनाएको यो पहिलो पटक हो । यसअघि विश्वका प्रख्यात हस्तीहरुले भारतको किसान आन्दोलनबारे प्रतिक्रिया जनाउँदै आफूहरुको समर्थन रहको बताएका थिए। जसमा भारत सरकारले आपत्ति जनाएको थियो ।

प्रतिक्रिया