राष्ट्रसंघका महासचिवद्वारा म्यान्मारको सैन्य कू विफल पार्न आह्वान


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनस्र्थापित गर्न आह्वान गरेका हुन् ।

उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताएका छन् । उनले भनेका छन्, ‘यो कू विफल बनाउन म्यान्मारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै हामी गर्नेछौँ। जनचाहना र चुनावको परिणामलाई उल्ट्याउनु पूर्ण रुपमा अस्वीकार्य छ । म आशा गर्छु कि म्यान्मारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ ।’

सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सुकीलाई गिरफ्तार गरेको थियो । म्यान्मारको प्रहरीले सुकीविरुद्ध विभिन्न अभियोगहरू लगाएको छ र फेबु्रअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन् । सेनाले सत्ता हातमा लिएपछि सुकी र राष्ट्रपति विन मिनका तर्फबाट कुनै किसिमका प्रतिक्रियाहरू आएका छैनन् ।

म्यान्मारमा सेनाद्वारा एक वर्षका लागि सङ्कटकाल लागु गरेको र सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ । गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप सेनाले लगाएको छ । उक्त चुनावमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले अत्यधिक मत ल्याएको थियो ।

गत नोभेम्बरको चुनावबाट संसदको तल्लो र माथिल्लो दुबै सदनका कूल ४७६ स्थानमध्ये सुकीको दल एनएलडीले ३९६ स्थान जितेको छ । सन् २००८ को संविधान बमोजिम सेनालाई संसदको कूल स्थानको २५ प्रतिशत छुट्याइएको छ ।

साथै कतिपय महत्वपूर्ण मन्त्रालय पनि सेनालाई नै दिइएको छ । सेनाले फेसबुकलाई बन्द गर्न निर्देशन दिएको जनाइएको छ । सामाजिक सञ्जालहरूले स्थायित्वको पुनस्र्थापनामा बाधा र्पुयाएको भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो । बिहीवार प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा पहुँच नभएको बताएका थिए ।