विदेश जान व्यग्र मानिसहरूले आफ्नो हवाईयात्रा सुनिश्चित गर्न कोभिड परीक्षणको नक्कली प्रमाणपत्र देखाइरहेको बीबीसीको एउटा अनुसन्धानले पत्ता लगाएको छ । अफगानिस्तानमा यो बेथिति बढ्दै गएको पाइएको छ तथा धनाढ्य र सरकारी अधिकारीहरूले झुट्टा प्रमाणपत्रका लागि पैसा तिर्ने गरेको दाबी गरिएको छ । तर यो समस्या अफगानिस्तानमा मात्र सीमित नभई संसारभरि देखा परेको छ ।
अफगानिस्तानको नागरिक उड्डयन प्राधिकरणका निर्देशक काशिम वाफायिजादा भन्छन्, ‘सुरुमा यो एकदमै गम्भीर थियो। प्रत्येक उडानमा १० देखि २० जनाले कोभिड जाँचको नक्कली प्रमाणपत्र बोकिरहेका हुन्थे। पछि अवस्था अझै बिग्रियो जब कोभिड भएका झन्डै ५० जना आफ्नो गन्तव्यमा पुगे।’
उनका अनुसार अक्टोबर महिनाको अन्त्यतिर यो समस्या देखा पर्न थालेको थियो । संयुक्त अरब एमिरेट्स (यूएई)ले आगन्तुकहरूलाई विमानस्थलमा ओर्लिनेबित्तिक्कै पीसीआर परीक्षणको नतिजा देखाउनुपर्ने व्यवस्था गरेको छ। उसले ५३ देशका नागरिकहरूलाई आइसकेपछि दोस्रो पटक परीक्षण गर्नैपर्ने नियम बनाएको छ ।
ती देशमध्ये अफगानिस्तान पनि पर्छ । उक्त नियम बनेलगत्तै यूएईमा नक्कली प्रतिवेदन ल्याउने यात्रुको लहर नै देखापर्यो । कतिपयलाई जानीजानी त्यस्ता नक्कली प्रमाणपत्र ल्याएको आरोप लागेको छ भने अरूले आफूले थाहा नपाई त्यसो गरिएको बताएका छन् । काबुलका एक व्यापारी यासिनले दुबई जान राजधानीमा रहेको आफूलाई विश्वसनीय लागेको क्लिनिकमा महँगो शुल्क तिरेर कोभिडको परीक्षण गराए ।
सुरक्षाका लागि वास्तविक नाम नखुलाइएका यासिनलाई क्वारन्टीनमा राख्नुपर्यो र उनको व्यावसायिक यात्रा नै नक्कली कोभिड प्रमाणपत्रका कारण बिथोलिन पुग्यो। उनले उक्त क्लिनिकले वास्तविक परीक्षण नगरेको आफूलाई थाहा नभएको दाबी गरे ।
उक्त विषय यति गम्भीर बन्यो कि नोभेम्बरमा काबुलबाट हुने उडानहरू स्थगित भए। त्यहाँको विमानस्थलबाट दैनिक १२ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् । डा. कासिम वाफायिजादाले नक्कली जाँच गर्ने शङ्का गरिएका राजधानीका पाँचवटा क्लिनिकको नाम बताए।
तर तीमध्ये सबैले आरोपहरू अस्वीकार गरेका छन् । तर सरकारी अधिकारीहरूले क्लिनिक र यात्रुहरूले परीक्षणका लागि भिड हुने भएकाले जानीजानी घुस तिरेर नक्कली प्रमाणपत्र लिइरहेको आरोप लगाएका छन् ।
अफगानिस्तानका प्रथम उपराष्ट्रपति अम्रूल्लाह सालेहले आफ्नो फेसबुक पेजमा काबुलका निजी प्रयोगशालाहरू कैयौँ नक्कली जाँचहरू गरेको उल्लेख गर्दै त्यसले अफगानिस्तानको स्वास्थ्य मापदण्डलाई क्षति पुर्याएको टिप्पणी गरेका छन् ।
सरकारले कैयौँ निजी परीक्षण केन्द्रका अनुमतिपत्र रद्द गरेको छ र तिनलाई कोभिड १९ जाँच प्रमाणित गर्न रोक लगाइएको छ। त्यसबारेको आधिकारिक तथ्याङ्का उपलब्ध गराइएको छैन तर अधिकारीहरूले प्रमाणपत्र मान्य हुने २५ वटा प्रयोगशालाको नाम वितरण गरेका छन् ।
तर यसले समस्या समाधान गरेको छैन। ठगी भएको देख्ने एक प्राविधिकका अनुसार आफू उपस्थित नै नभईकन अफगानिस्तानका अधिकारीहरू र सांसदहरूले कोभिड परीक्षण गराएका छन्। उनीहरूले आफ्नो राहदानी नम्बर मात्रै पठाउने गरेका छन् र त्यसलाई उल्लेख गर्दै प्रयोगशालामा प्रमाणपत्र बन्छ।

प्रतिक्रिया