म्यानमारकी नेतृ आङ साङ सुकी सहितका नेता सेनाद्वारा ‘गिरफ्तार’


म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूकीलाई पक्राउ गरिएको छ ।

सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको पार्टीका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ ।म्यानमारमा भर्खरै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेको थियो भने सूकीको पक्राउलाई सैन्य कू को रुपमा हेरिएको छ ।गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेसँगै सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।निर्वाचित सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबार बोलाइएकै बेला सूकीलाई पक्राउ गरिएको हो ।

सन् २०११ सम्म सक्रिय सैनिक शासन रहेको म्यानमारमा पछि सूकीले आंशिक प्रजातन्त्र स्वीकार्दै निर्वाचनमा भाग लिनुभएको थियो । नेतृ सूकीलाई सेनाले वर्षौसम्म नजरबन्दमा राखेकामा विश्वभरबाट उहाँको संघर्षको पक्षमा आवाज उठेको थियो । तर आफ्नो पार्टी सत्तामा आएछि सैन्य नेतृत्वसँग मिलेर रोहिन्ग्या मुस्लिमहरुमाथि ज्यादती मच्चाएको भन्दै सूकीको विश्वभरबाट आलोचना भएको थियो ।

सूकी पक्राउसँगै राजधानीसहित म्यानमारको प्रमुख शहरमा टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । अरु प्रजातन्त्रवादी नेतालाई पक्राउ गर्नुका साथै राजधानीसहितका मुख्य शहरमा सैनिक तैनाथी बढाइएको छ ।

सोमबार बिहानै सूकीसहित राष्ट्रपति विन मिन्ट, अरु नेता, विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि पक्राउ गरिएको छ ।

नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा सूकीको पार्टी एनएलडीले ८३ प्रतिशत सिट जितेको थियो । सन् २०११ मा नागरिक प्रशासन लागू भएको भनिए पछिको यो दोस्रो चुनावलाई सुकीको परीक्षणका रुपमा पनि हेरिएको थियो ।