सिङ्गापुरको चिडियाखानामा पहिलोपटक कृत्रिम गर्भधारणबाट सिंहको बच्चा जन्मिएपछि हर्ष बढाइँ गरिएको छ । तर त्यो डमरु (सिम्बा)ले कहिल्यै उसको बाबु (मुफासा)लाई भेट्न पाउने छैन किनभने उक्त वृद्ध सिंहलाई गर्भादान प्रक्रियापछि ब्युँताइएन ।
सिम्बा मुफासाको एक्लो छोरो हो। सँधै आक्रोशित रहने गरेको मुफाशाले कहिल्यै गर्भ रहने गरी सहवास गर्न सकेन । त्यसैले चिडियाखानाले विरलै प्रयोग गरिने कृत्रिम प्रक्रियामार्फत् उसको वंश जोगाउने प्रयत्न गर्यो । चिडियाखानाका एकजना प्रवक्ताका अनुसार कृत्रिम तरिकाबाट गर्भधारणका लागि उसको वीर्य ’इलेक्ट्रो इज्याकुलेशन’ विधिबाट सङ्कलन गरिएको थियो ।
त्यसपछि आफ्ना जङ्गली दाजुभाइभन्दा ६ देखि १० वर्ष बढी बाँचिसकेको र कमजोर बनेको बूढो २० वर्षे सिंहलाई इच्छामरण गराइएको थियो । बेहोस बनाउने औषधि सुँघाएर उसको वीर्य सङ्कलन गरिएको थियो जसको मुख्य उद्देश्य थियो मृत्युपछि उसको वंश संरक्षण । साँच्चै सिम्बाले वंश जोगाउन सक्ने जस्तो देखिएको छ।
तीन महिनामा उसको राम्रो शारीरिक विकास भएको छ । डीजनी कथामा ’द लायन किङ’को लोकप्रिय सिंह पात्रको नाम दिइएको सिम्बा खासमा गत अक्टोबर महिनामै जन्मिएको थियो ।
तर चिडियाखानाले अहिले मात्रै यो समाचार प्रकाशित गरेको छ । उसकी आमा कायला बिरामी भएकाले सिम्बालाई बोतलबाट दूध खुवाइएको थियो। तर सिम्बाको आफ्नी आमासँग निकटको सम्बन्ध होस् भन्नेकुरा ध्यानमा राखिएको छ ।
लोकप्रिय डीजनी फिल्म द लायन किङको पात्रको नाममा यो डमरुको नाम सिम्बा राखिएको छ । चिडियाखानाका अनुसार मुफासाको अनुवंश अब सिम्बामा पुगेको छ। त्यसले अफ्रिकी सिंहको सङ्ख्या चिडियाखाना जस्ता संस्थामा संरक्षण गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ । सिंहको यो प्रजातिलाई प्रकृति संरक्षण सम्बन्धी संस्था आईयूसीएनले खतराको सूचिमा राखेको छ।

प्रतिक्रिया