जर्मनीको खोप समितिले एस्ट्राजेनेकाको कोभिड खोप ६५ वर्ष भन्दा कम उमेर समूहका मानिसहरूलाई मात्र दिइनुपर्ने जनाएको छ । ब्रिटिश जनस्वास्थ्य अधिकारीहरूले उक्त खोप सुरक्षित रहेको र ’उच्च तहको सुरक्षा दिने’ बताएका छन् ।
समितिले जेष्ठ मानिसहरूमा हुने प्रभावकारिताका विषयमा अक्सफर्डरएस्ट्राजेनेका खोपको ’अपर्याप्त तथ्याङ्क’ रहेको भन्दै त्यस्तो बताएको हो । युरोपेली औषधि नियामकले शुक्रवार युरोपेली सङ्घमा उक्त खोपलाई प्रयोगको स्वीकृति दिने/नदिने टुङ्गो लगाउँदैछ ।
वेलायतले केही सातायता आफ्ना धेरैजना नागरिकका लागि यो खोप प्रयोग गरिरहेको छ । क्षेत्रीय समूहभित्र खोप आपूर्तिमा भइरहेको ढिलाइलाई लिएर शीर्ष उत्पादकहरूसँग विवाद भइरहँदा जर्मनीको त्यस्तो घोषणा आएको हो ।
वेलायतमा रहेको एस्ट्राजेनेका कम्पनीले यो वर्षको पहिलो त्रैमासिकमा यसअघि आफूले वाचा गरेको मात्राको केही अंश मात्र आपूर्ति गर्न सक्ने बताएसँगै ईयू नेताहरू क्रुद्ध भएका थिए । उक्त कम्पनीले युरोपमा रहेका आफ्ना प्लान्टमा समस्या आउनुलाई त्यसको कारण बताएको छ ।
ईयूले एस्ट्राजेनेका कम्पनीलाई वेलायतमा रहेको उत्पादन केन्द्रबाटै भएपनि आफूहरूलाई कोभिड १९ खोपको वाचा गरेको मात्रा उपलब्ध गराउन माग गरेको छ ।
ईयूले सदस्य राष्ट्रहरूलाई आफ्नो खोप सुनिश्चित गर्नका लागि ’सबैखाले कानुनी उपचारको प्रयोग गर्न’ समेत आग्रह गरेको छ । २७ सदस्य राष्ट्र रहेको ईयूसँग अझ ठूलो खोपको सम्झौता गरेको फाइजररबायोएनटेकले समेत ढिलासुस्ती गरिरहेको छ ।
एउटा स्वतन्त्र खोप समितिले जर्मन सरकारलाई एउटा सिफारिस गर्दै ’जुनसुकै खेपमा त्यो १८–६४ उमेर समूहका मानिसहरूलाई मात्र दिइनुपर्ने’ भनेको हो ।
तर पब्लिक हेल्थ इङ्ल्याण्डका खोप कार्यक्रम प्रमुख डा. मेरी राम्सेले एस्ट्राजेनिका र फाइजर/बायोएनटेक खोपहरू सुरक्षित रहेको बताएकी छन् । ब्रिटिश प्रधानमन्त्री बोरिश जोन्सनले जर्मन समितिको सिफारिसबाट आफू चिन्तित नभएको बताएका छन्।

प्रतिक्रिया