बाहिरिन लागेका ट्रम्पले किन रोके अमेरिकी रक्षा खर्च विधेयक ?


बाहिरिने क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ७४० अर्ब डलर बराबरको रक्षा खर्च विधेयक रोकिदिएका छन् । यसै महिना अमेरिकी कङ्ग्रेसले उक्त विधेयक पारित गरेको थियो ।

अफगानिस्तान तथा युरोपबाट अमेरिकी फौज फिर्ता लग्ने र सैनिक अखडाहरूबाट अमेरिकी गृहयुद्धकालीन सैनिक जनरलहरूको नाम हटाउने व्यवस्थाको ट्रम्पले विरोध गर्दै आएका छन् । सामाजिक सञ्जालहरूलाई प्राप्त जवाफदेहितासम्बन्धी बचाउ गर्ने अधिकार पनि ट्रम्पले हटाउन चाहेका छन् ।

सांसदहरूले बहुमतले ती विषयलाई अनुमोदन गरेका थिए र विधेयक रोक्ने राष्ट्रपतिको कदमलाई खारेज गर्न सक्छन् । कङ्ग्रेसले पारित गरेका विधेयकहरू कानुन बन्न राष्ट्रपतिले त्यसमा हस्ताक्षर गर्नुपर्छ । नीतिगत असहमति हुँदा विरल अवस्थामा राष्ट्रपतिले विधेयकलाई रोक्न आफ्नो विशेषाधिकार प्रयोग गर्न पाउँछन् ।

सांसदहरूले राष्ट्रपतिको विशेषाधिकारलाई खारेज गर्न सक्छन् र संसद्को दुवै सदनमा दुई तिहाइ बहुमत पुर्याएर विधेयकलाई कानुनी रूप दिलाउन सक्छन् । कङ्ग्रेसले यो मामिलामा ट्रम्पको विशेषाधिकारलाई खारेज गरेन भने ६० वर्षयता पहिलो पटक न्याश्नल डिफेन्स अथोराइजेशन एक्ट (एनडीएए) कानुन बन्न पाउने छैन ।

पैँतालीस सय पृष्ठ लामो एनडीएएलाई ट्रम्पले चीन र रुसका लागि उपहार भएको आरोप लगाएका छन्। आगामी जनवरी २० तारिख ट्रम्पको कार्यकाल सकिँदैछ। उनलाई राष्ट्रपति निर्वाचित जो बाइडनले विस्थापित गर्नेछन्।