पारस टी-१० लिगमा अनुबन्ध


काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लिगमा फेरि अनुबन्ध भएका छन् । इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उनलाई नियुक्त गरेको हो ।

अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरिएको हो । यो सिजनमा खड्काले युवा खेलाडीको मेन्टरको काम गर्ने छन् । योसँगै खड्का टिम अबुधाबीको कोचिङ टिममा रहने भएका छन् । दुबईमा हुने टी १० लिगको यस सिजनको खेल जनवरी २८ देखि फेब्रुअरी ६, २०२१ सम्म हुनेछ ।

यस अघि नोभेम्बर १९ देखि २८ सम्म हुने भनिएको भएपनि कोरोना महामारीका लागि स्थगित भएको थियो । उनले अबुधाबीको नयाँ भूमिकाबाट आफू उत्साहित भएको जनाएका छन् ।

उनले शनिबार बिहान ट्वीट गर्दै यसबाट आफू उत्साहित रहेको र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न मद्दत गर्ने बताएका छन् । ‘टीम अबुधाबीसँगको नयाँ भूमिकालाई लिएर उत्साहित छु । आशा छ, क्रिकेटिङ टाईअपबाट अन्तर्राष्ट्रिय लेभलमा नेपाली क्रिकेट विकास गर्न सकिन्छ । र टीम अबुधाबी मार्फत हाम्रा क्रिकेटरका लागि अवसर प्राप्त गर्न सकिनेछ ।’