विपदमा परी एकवर्षमा ४६२ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपद्जन्य घटनामा परी ठूलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि असार १७ गतेसम्म प्राकृति विपद्मा परी ४६२ जनाले ज्यान गुमाएका छन् ।

तीमध्ये सबैभन्दा बढी आगलागीको घटनामा परी १०४ जनाको ज्यान गएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । उनले प्राधिकरणमा देशभरबाट कुल सात हजार ९८९ वटा विपद्का घटना दर्ता भएका बताए । ती घटनामा १८ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

प्राकृतिक विपद्का कारण दुई हजार १७८ जना घाइते भएका छन् भने १२ हजार ९८४ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन् । पहिरोका घटनामा परी ७३ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बाढीका २८९ घटनामा ३२ जनाको ज्यान गएको छ भने सात जना बेपत्ता भएका छन् ।

यसैगरी ४०१ वटा चट्याङका घटनामा ३७ जनाको मृत्यु भएको छ भने २४४ जना घाइते भएका प्रवक्ता महतले जानकारी दिइन् । उनका अनुसार सर्पदंशका कारण ७०, जनावर आतङ्कबाट ५९ र लेक लागेर ५१ जनाको ज्यान गएको छ ।

प्रवक्ता महतले हावाहुरीका कारण १८, भारी वर्षाका कारण नौ, हिउँपहिरोमा परी सात र डुङ्गा पल्टिँदा दुई जनाको ज्यान गुमाएको जानकारी दिनुभयो । यस अवधिमा भएका विभिन्न विपद्का घटनाबाट देशमा कुल रु दुई अर्ब छ करोड ४७ लाख ७३ हजार १२८ बराबरको अनुमानित आर्थिक क्षति भएको छ ।