भेनेजुएलामा भूकम्पको भग्नावशेषमा पुरिएका एक व्यक्तिको आठ दिनपछि जीवितै उद्धार


बीबीसी । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा पुरिएका एक व्यक्तिको आठ दिनपछि जीवितै उद्धार गरिएको छ ।

भग्नावशेषमुनि फसेका हर्नान गिललाई उद्धारकर्मीहरूले पहिलो पटक पत्ता लगाएको १०० घण्टाभन्दा बढी समयपछि सुरक्षित रूपमा बाहिर निकालेका हुन्। उद्धारमा भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र संयुक्त राज्य अमेरिकाका उद्धार टोलीहरू संलग्न थिए ।

उद्धार अभियानमा सहभागी चिलीका एक अग्निनियन्त्रकले यो आफ्नो जीवनकै “सबैभन्दा जटिल र प्राविधिक रूपमा कठिन उद्धार अभियान“ भएको बताएका छन्।

गत जुन २४ मा भेनेजुएलामा आएको भूकम्पमा हालसम्म करिब दुई हजार तीन सय जनाको मृत्यु पुष्टि भएको छ भने अझै पनि दशौँ हजार मानिस बेपत्ता रहेका छन्।

कोस्टारिकाको रेडक्रसका प्यारामेडिक एलन माद्रिगालले गिललाई आइतबार भग्नावशेषभित्रबाट आएको कमजोर आवाजका आधारमा जीवित रहेको पत्ता लगाएका थिए। उनले सुरुमा आफ्नै कानलाई विश्वास नलागेपछि सहकर्मीसँग पुष्टि गराएको बताएका छन्।

भूकम्प आउँदा गिल राजधानी नजिकैको काटिया ला मारस्थित गालेरियास प्लाया ग्रान्डे मलसँगै रहेको पार्किङ क्षेत्रको बेसमेन्टमा रहेको सानो कंक्रिटको सुरक्षा कक्षमा ड्युटीमा थिए। प्रारम्भिक अनुमानअनुसार उक्त कंक्रिट संरचनाले सुरक्षात्मक घेरा बनाएपछि उनीमाथि खसेको १४० टन भग्नावशेषबाट जोगिन सफल भएका थिए।

उद्धारका क्रममा गिललाई पानी र स्लाइन उपलब्ध गराइएको थियो। उनीसम्म पुग्न बनाइएका सुरुङहरू पटक–पटक भत्किँदा उद्धार अभियान थप जोखिमपूर्ण बनेको थियो। अन्ततः रातभरको प्रयासपछि उद्धार टोलीले उनीसँग प्रत्यक्ष दृश्य सम्पर्क स्थापित गर्दै सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको हो।

उद्धार टोलीका सदस्यहरूका अनुसार गिल उद्धार अवधिभर सकारात्मक र उत्साहित देखिएका थिए। उनले आफूलाई मनपर्ने स्वादको हाइड्रेसन पेयसमेत मागेका थिए भने उद्धारकर्मीहरूलाई निरन्तर हौसला दिँदै काम जारी राख्न आग्रह गरिरहेका थिए।
गिललाई सबैभन्दा पहिले पत्ता लगाउने प्यारामेडिक माद्रिगालले यो आफ्नो पहिलो अन्तर्राष्ट्रिय उद्धार अभियान भएको उल्लेख गर्दै भेनेजुएलाको अनुभवले आफ्नो जीवन नै परिवर्तन गरेको बताएका छन्।