सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै


काठमाडौं । सत्तारुढ नेकपाको सचिालय बैठक आज बस्दै छ । आज दिउँसो एक बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल हुनेछ ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा लैजाने प्रयासमा छ । प्रधानमन्त्री ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउन जोड दिने रणनीतिमा छ ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेपछि नेकपामा दुई वटा प्रस्तावले औपचारिक रुपमा प्रवेश पाएका छन् ।

बैठक माग गर्दै पाँचजना सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र पत्राचारको श्रृंखला चलेको छ। कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए । त्यसको जवाफमा ओलीले अर्को प्रस्ताव पेश गरेका हुन्।